मिति घोषणाको अन्तर्राष्ट्रिय समुदायद्वारा स्वागत

काठमाडौं, १ असार । अन्तर्राष्ट्रिय समुदायले संविधानसभा चुनावको मिति घोषणा भएकामा स्वागत गर्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिका, जापान, नर्वे, युरोपेली संघ र स्विट्जरल्यान्डले स्वागत गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

युरोपेली संघका विदेश मामला तथा सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि क्याथरिन आसटनले मंसिर ४ गते संविधानसभाको चुनाव गर्ने निर्णायक कदमको स्वागत गर्दै प्रजातन्त्रको संस्थागत विकासका लागि निर्वाचन अपरिहार्य भएको बताएकी छन् ।
युरोपेली आयोगको उपाध्यक्षसमेत रहेकी उनले निर्वाचन प्रक्रियामा सामेल हुनु महत्त्वपूर्ण भएको भन्दै सबै राजनीतिक शक्तिलाई त्यसमा लाग्न आग्रह गरेकी हुन् । उनका प्रवक्ताले आयोगको मुख्यालय ब्रसेल्सबाट जारी गरेको वक्तव्यमा यस्तो उल्लेख गरिएको छ ।
नेपालको पुरानो मित्रका नाताले पर्यवेक्षण टोली खटाउनेलगायत संघ चुनावका सबै प्रक्रिया र त्यसपछिका दिनमा पनि सहयोग गर्न तत्पर रहेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ संविधानसभा चुनावको मिति घोषणा तथा निष्पक्ष, विश्वसनीय एवं पूर्ण सहभागितामूलक चुनाव गराउन निर्वाचनसम्बन्धी कानुनको तयारी गरेकामा स्विट्जरल्यान्डले अन्तरिम निर्वाचन परिषद्को प्रशंसा गर्दै सबै राजनीतिक दललाई निर्वाचनमा भाग लिन आग्रह गरेको छ ।
त्रास र हिंसाबाट निर्वाचन मुक्त हुनुपर्नेमा जोड दिँदै स्वीटजरल्याड दूतावासले शुक्रबार जारी गरेको वक्तव्यमा वित्तीय तथा प्राविधिक सहायता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
त्यसैगरी जापानले सरोकारवाला सबैको चाहना बमोजिम शान्तिपूर्ण वातावरणमा निष्पक्ष निर्वाचन हुने तथा त्यसमा थप व्यवधान नआउने आशा व्यक्त गर्दै जापानी सरकार र त्यहाँका जनता सक्दो सहयोग गर्न तयार रहेको जनाएको छ ।
नर्वेले पनि निर्वाचन प्रजातान्त्रिक समाजको मेरुदण्ड हो भन्दै शान्त, प्रजातान्त्रिक र समावेशी नेपालका निम्ति प्रमुख आवश्यकता भएको जनाउँदै जनसंख्याको आधाभन्दा बढी भाग ओगटेका युवा तथा महिलालाई निर्वाचनमा समावेश गर्न तथा उनीहरूको मताधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया