दाहालको नेतृत्वमा चुनाव परिचालन कमिटी

Prachandaकाठमाडौं, १ असार । चुनावको मिति घोषणा भएलगत्तै एकीकृत नेकपा (माओवादी)ले पार्टी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षको नेतृत्वमा ६७ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।

निर्वाचन परिचालन कमिटीमा पूर्वस्थायी समिति सदस्य, १४ वटै राज्य समितिका संयोजक, ब्युरो इन्चार्ज र जनवर्गीय संगठनका सदस्य रहेका छन् । चुनाव घोषणाको स्वागत गर्दै एमाओवादी बैठकले चुनाव सफल बनाउन सबै प्रकारको सहयोग गर्ने पनि निर्णय गरेको छ । ‘चुनाव घोषणाको स्वागत गर्दै चुनावका लागि सबै प्रकारका सहयोग गर्ने निर्णय पार्टीले गरेको छ,’ प्रवक्ता अग्नि सापकोटाले भने, ‘अब पार्टी पूर्णरूपमा चुनावी तयारीमा लागेकाले पार्टी अध्यक्षको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।’ सरकारले बिहीबार ४ मंसिरका लागि संविधानसभाको दोस्रो निर्वाचनको मिति घोषणा गरेको थियो ।
मुलुक राजनीतिक संक्रमणकालमा रहेकाले चुनाव सफल पार्नु प्रमुख ऐतिहासिक कार्यभार भएको भन्दै सबैलाई निर्वाचनमा केन्द्रित हुनसमेत एमाओवादीले आग्रह गरेको छ ।
त्यस्तै, एमाओवादीले पार्टीका सबै तह, सम्पूर्ण पार्टी सदस्य, सबै जनवर्गीय संगठन, जातीय क्षेत्रीय मोर्चालाई पनि निर्वाचनमा केन्द्रित हुन आग्रह गरेको छ ।
एमाओवादीले यसअघि नै निर्वाचन प्रयोजनका लागि पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा निर्वाचन घोषणापत्र तयारी समिति र महासचिव पोस्टबहादुर बोगटीको संयोजकत्वमा उम्मेदवार छनोट सिफारिस समिति गठन गरिसकेको छ ।

प्रतिक्रिया