चुनाव घोषणाविरुद्ध मोर्चा सडकमा

maobadisकाठमाडौं, १ असार । घोषित चुनावका विरुद्ध विपक्षी गठबन्धनले नेपाल बन्द घोषणा गरेका छन् । नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चा, मधेसी जनअधिकार फोरमसहितको संघीय लोकतान्त्रिक मोर्चा र संघीय समाजवादी पार्टीले आफूहरूसँग छलफल नगरी घोषणा गरिएको चुनाव हुन नसक्ने भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरूले निर्वाचन घोषणा खारेजीको माग गर्दै शुक्रबार राजधानीको रत्नपार्कमा प्रदर्शन गरे । विपक्षी मोर्चामा रहेका तीनवटै पक्षबीच शुक्रबार विभिन्न चरणमा छलफल गरेपछि आइतबार उनीहरूले संयुक्त रूपमा नेपाल बन्दको कार्यक्रम घोषणा गरेका हुन् ।
माओवादीसहित ३३ दलीय मोर्चाले प्रमुख चार दलबीच भएको ११ र २५ बुँदे सहमति र संविधान संशोधन गर्न राष्ट्रपतिले जारी गरेको अध्यादेश र खिलराज रेग्मी नेतृत्वको सरकार विघटन नभएसम्म चुनावमै भाग नलिने पक्षमा छन् भने संघीय लोकतान्त्रिक मोर्चा चुनावप्रति लचिलो देखिएको छ । तर, आइतबारको बन्दको कार्यक्रम भने उनीहरूले संयुक्त रूपमा घोषणा गरेका हुन् । संघीय लोकतान्त्रिक मोर्चा आबद्ध आठ दलले चुनावमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् भने ३३ दलीय मोर्चा आबद्ध अधिकांश दलले दलसमेत दर्ता गराएका छैनन् ।
सरकारले आफ्नो फेस सेभिङका लागि मात्रै चुनाव घोषणा गरेको असन्तुष्ट दलहरूको सहभागिताविना चुनावै हुन नसक्ने उनीहरूको दाबी छ । ‘चुनाव नै हुँदैन, आफ्नो फेस सेभिङका लागि चुनाव मिति घोषणा गर्नु बाध्यता भएकाले मात्रै घोषणा गरेका हुन्,’ नेकपा–माओवादीका नेता हरिभक्त कँडेलले सौर्यसँग भने, ‘जसको इन्ट्रेस्टमा चुनाव घोषणा गर्न बाध्य भएका हुन्, उसैलाई खुसी पार्न मात्रै खोजिएको देखिन्छ ।’ कँडेलले मुद्दा मिल्ने पक्षहरूसँग सकेसम्म संयुक्त रूपमा आन्दोलनमा जाने तयारी भएको पनि बताए ।
संघीय लोकतान्त्रिक मोर्चा र संघीय समाजवादी पार्टी चुनावमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नेगरी विश्वसनीय आधार बनेपछि मात्रै चुनाव हुने बताइरहेका छन् भने माओवादीसहित ३३ दल सरकार नै खारेज गरी दलीय सरकार गठन गर्नुपर्ने अडान राखिरहेका छन् । ‘धेरै कुरा मिलेका छन् मिलेका विषयमा सहकार्य गरेर आन्दोलन संयुक्त बनाउने प्रयास गर्छाैं,’ कँडेलले भने, ‘चुनाव सुनिश्चितताको आधार खोजेर उहाँहरू अलि लचिलो कुरा गरिरहनुभएको छ, बुझाइमा अलि फरक परेको मात्रै हो ।’
आन्दोलनका थप कार्यक्रम शनिबार बस्ने बैठकले सार्वजनिक गर्ने उनीहरूले बताएका छन् । असन्तुष्ट दलहरूका मोर्चा चुनाव घोषणा खारेजीका लागि आन्दोलनमा उत्रिएपछि चुनाव चुनौतीपूर्ण देखिएको हो । शुक्रबार तीनै पक्षबीच राजधानीको बुद्धनगरमा विभिन्न चरणमा बैठक बसेपछि उनीहरूले शुक्रबारको विरोध प्रदर्शन र आइतबारको नेपालबन्दको कार्यक्रम घोषणा गरेका थिए । आन्दोलन शान्तिपूर्ण हुने र सरकारलाई चुनाव घोषणा फिर्ता गराउन बाध्य पार्ने उनीहरूले दाबी गरेका छन् ।

प्रतिक्रिया