सडकमा ३३ दल/शान्ति बाटिकामा विरोध

mao

काठमाडौं, ३१ जेठ । नेकपा–माओवादीसहितका ३३ राजनीतिक दलहरुले सरकार र उच्चस्तरीय राजनीतिक समितिले आन्दोलनरत पक्षलाई वेवास्ता गरेर निर्वाचनको मिति घोषणा गरेको भन्दै बिरोध जनाएका छन् ।
नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा आज (शुक्रबार) बसेको ३३ दलको बैठकले एकलौटी रुपमा निर्वाचनको मिति घोषणा भएको विरोधमा प्रदर्शनलगायतका कार्यक्रम गर्ने निर्णय गरेका हुन् ।
यसैबीच, नेकपा–माओवादीसहितका ३३ दलले आजै काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा बिरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण सो क्षेत्रको सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मणि थापाले एकलौटी रुपमा निर्वाचनको मिति घोषणा गरेको विरोधमा आइतबार नेपाल बन्द आह्वान गरेको जानकारी दिए । बन्दको प्रचार प्रसारका लागि भोलि शनिबार मुलुक भरि प्रदर्शन गर्ने ३३ दलको निर्णय छ ।
‘आन्दोलनरत पक्षका मागलाई वेवास्ता गरेर निर्वाचनको मिति घोषणा भएको छ,’ उनले भने, ‘चार राजनीतिक शक्तिको सिण्डिकेट विरुद्ध हाम्रो विरोध प्रदर्शन हो ।’
सरकारले बिहीबार बेलुका संविधानसभाको निर्वाचन मंसिर–४ गतेलाई तोके पछि नेकपा–माओवादीसहितका राजनीतिक दलहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया