थ्री–स्टारलाई रोक्दै मनाङ फाइनलमा

footballकाठमाडौं, ३१ जेठ । निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी छँदा विजयी गोल गर्दै मनाङ मस्याङ्दी क्लब बिहीबार पछिल्ला तीन संस्करणको फाइनलिस्ट थ्री–स्टारलाई १–० गोलअन्तरले पराजित गर्दै गोर्खा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थ्री–स्टारका गोलकिपर किरण चेम्जोङ अगाडि बढेको मौकामा वैकल्पिक खेलाडी विशाल राईले ८७औँ मिनेटमा डी–बक्सको एजबाट एयरमा गरेको प्रहारमा क्रसबारको नजिकैबाट बल गोलपोस्टभित्र छिरेको थियो ।

त्यसपछि दुई अवसर पाए पनि दुईपटकको विजेतासमेत रहेको थ्री–स्टार त्यसमा सफल हुन सकेन । इन्जुरी समयमा थ्री–स्टारका डिफेन्डर सरोज दाहाल डी–बक्सभित्र अनमाक्र्ड देखिए पनि उनले क्लोज रेन्जबाट बल फ्रेममा समेत प्रहार गर्न सकेनन् । त्यसअघि गोलकिपरलाई समेत अगाडि सार्दै खेलमा फर्कने प्रयासमा देखिएको थ्री–स्टारका लागि डोडोजले उत्कृष्ट ड्रिबलिङपछि डी–बक्सको एजबाट गरेको प्रहारमा क्रसबारको नजिकै भएर बल बाहिरिएको थियो ।
जितसँगै मनाङले यसअघिका दुई संस्करणको फाइनलमा बेहोरेको बदला थ्री–स्टारसँग लियो । सुरुका दुई संस्करण मनाङलाई हराएर जितेको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन थ्री–स्टार गत संस्करणमा नेपाल पुलिससँग पराजित भएपछि उपाधिको ह्याट्रिक गर्नबाट चुकेको थियो । लामो समयपछि राजधानीको प्रतियोगितामा फाइनल पुगेको मनाङले १० लाख रुपियाँ उपाधि राशिका लागि शनिबार नेपाल आर्मीको सामना गर्नेछ ।
सन्तोष शाहुखलले डी–बक्स एजबाट गरेको प्रहार मनाङका गोलकिपर विशाल श्रेष्ठले डाइभ गर्दै एक हातले क्लियर गरेपछि पछिपर्नबाट जोगिएको मनाङको आक्रामक प्रदर्शनलाई रोक्न खोज्दा ४२औँ मिनेटमा थ्री–स्टार १० खेलाडीमा सीमित भएको थियो । पाँच मिनेटको अन्तरमा दुई पहेँलो कार्ड पाउँदै डिफेन्डर विष्णु सुनुवार मैदानबाट बाहिरिन बाध्य भएपछि मिडफिल्डर नीराजन खड्कालाई निकाल्दै चोटका बीच पनि डिफेन्डर सन्दीप राईलाई मैदान प्रवेश गराएको थ्री–स्टारले दोस्रो हाफमा दबाबपूर्ण प्रदर्शन गरेको थियो । सबै डिफेन्डरलाई बिट गरे पनि स्ट्राइकर सन्तोष साहुखलले बल मनाङका गोलकिपर विशाल श्रेष्ठलाई कटाउन सकेनन् । त्यसपछि मनाङका कप्तान सागर थापाले एक मिनेटको अन्तरमा दुईपटक टोलीको संकट टारे । लामो फ्रिकिकमा जगजित श्रेष्ठले सेकेन्ड बार च्यापेर गरेको सानदार प्रहार गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गर्दै पुन: मनाङलाई पछिपर्नबाट जोगाएका थिए । विशालले गोल गर्नुअघि पुन: एकपटक थ्री–स्टारले अग्रता लिने अवसर पाएको थियो तर डोडोजले डी–बक्सको साइडमा उपलब्ध गराएको बल वन भर्सेस वनमा देखिएका प्रकाश बुढाथोकीले सदुपयोग गर्न सकेनन् । ८०औँ मिनेटमा सुजल श्रेष्ठको स्थानमा प्रवेश गरेका विशालले डी–बक्सभित्र रहेका योना एलियासको ब्याक पास सदुपयोग गरेका हुन् । यस मुभको फाउन्डेसन भने मिडफिल्डर रूपेश केसीले बनाएका थिए । दीपक राई, अनिल गुरुङ हुँदै एलियासको खुट्टामा बल पुग्नुअघि रूपेशले मध्यभागतिर तिन विपक्षी खेलाडीविरुद्ध उत्कृष्ट ‘क्यारी’गर्दै डी–बक्सभित्र प्रवेश गरिसकेका दीपकलाई सेकेन्ड बारमा बल उपलब्ध गराएका थिए ।
जितपछि मनाङका प्रशिक्षक अमृत पन्तले मिडफिल्डमा समस्या हुँदा दोस्रो हाफमा टोलीले अनावश्यक दबाब बेहोरेको बताउँदै तुलानात्मक रूपमा राम्रो खेलेकाले जित हात पार्न सफल भएको बताए । राम्रो लयमा रहेको आर्मीसँग निकै मिहिनेत गर्नुपर्ने उनको भनाइ छ । आपसमा झगडा गरेका कारण दोस्रो हाफको इन्जुरी समयमा रेफ्री सचिन अमात्यले थ्री–स्टारका जगजित श्रेष्ठ र मनाङका योना एलियासलाई सोझै रातो कार्ड देखाएका थिए । सानदार लयमा रहेका एलियासको अनुपस्थिति मनाङलाई फाइनलमा महँगो हुन सक्नेछ ।

प्रतिक्रिया