पानी चुहावट नियन्त्रण अभियान

चितवन, ३१ जेठ । भरतपुर नगरपालिककामा रहेको भरतपुर खानेपानी व्यवस्थापन बोर्डले पानी चुहावट नियन्त्रण अभियान सुरु गरेको छ । बोर्डले दैनिक बिहान र बेलुका गरेर औसत १० घन्टा खानेपानी वितरण गर्दै आएको बोर्डका खानेपानी उपभोक्ता समिति गौरीगञ्जका अध्यक्ष पूर्णबहादुर रानाभाटले बताए । राम्रो व्यवस्थापन भएका कारण कुनै पनि समयमा पानीका लागि हाहाकार गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । भरतपुर नगरस्तरीय टोल सुधार समितिका अध्यक्ष हरिमणि अधिकारीले बोर्ड व्यवस्थितसँगै पानीको समस्या अन्त्य भएको बताए ।

उनले बोर्डले शुरुआत गरेको पानी चुवाहट नियन्त्रण अभियानलाई अझ सशक्त बनाउन सुभाव दिँदै जडान शुल्क बढी हुँदा उपभोक्त मारमा परेको प्रतिक्रिया दिए । ०६४ सालमा गठन भई ०६७ देखि भरतपुर नगर क्षेत्रका उपभोक्तालाई गुणस्तरीय स्वस्थकर खानेपानी वितरण गरिरहेको छ । खानेपानीको व्यवस्थापन गर्नमा शुरुआत दिनमा निकै कठिन भएको अनुभव सुनाउँदै बोर्डका कार्यकारी निर्देशक शालिकराम पौडेलले भने, ‘राम्रो व्यवस्थापन गर्नसके सुख्खा समयमा पनि पानीको हाहाकार हँुदो रहेनछ ।’ उनले बोर्डको शुरुआतसँगै सरकारीस्तरबाट सञ्चालित खानेपानी संस्थान र बोर्ड छुट्टा–छुट्टै रूपमा भरतपुर नगर क्षेत्रमा पानी वितरण हुँदा कठिनाई भए पनि गत २० भदौदेखि संस्थानले आफ्नो सबै स्वामित्व बोर्डलाई हस्तान्तरण गरेपछि समस्या हट्दै गएको बताए ।
संस्थानले बोर्ड हस्तान्तरण गरेपछि पानीको अभाव न्यूनीकरणका लागि पहिलोपटक १४ असोज ०६९ देखि पानी चुहावट नियन्त्रण अभियान थालेसँगै सो समस्या क्रमिकरूपले हटेको बोर्डका कार्यकारी निर्देशक पौडेलले बताए । पानी चुहावट नियन्त्रण अभियानबाटै हालसम्म बोर्डले ११ लाख ३१ हजार ४ सय २३ रुपियाँ जरिवाना स्वरूप अतिरिक्त महसुल संकलन गर्न सफलसमेत भएको दाबी गरेको छ । बोर्डको कार्यालय पछाडि थप एक डिप ट्युबेल गत चैतमा निर्माण पछि थप सहज भएको कार्यालयले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक पौडेल, नासु उदयराज ढकालसहित पाँच सदस्यीय टोलीले नियमित रूपमा अनुगमन गरिरहेको छ ।
अनुगमनका क्रममा मन्त्रालयका सचिव, सरकारी कर्मचारी, वकिल, उद्योगपति, अस्पताल, मेडिकल हल, समाजसेवी, बंैकमा काम गर्ने लगायतका व्यक्तिले पानी चोरी गरेको भेटेको जनाएको छ । अभियानका क्रममा सबैभन्दा बढी २६ हजार रुपियाँ ज्ञानु मेडिकल हललाई जरिवाना गराएको टोलीमा गएका बोर्डका नासु उदयराज ढकालले जानकारी दिए । सो अवसरमा थप ६ सय वटा नयाँ धारा जडान गर्न कार्यालय सफल भएको छ । खानेपानीलाई व्यवस्थित गर्न बोर्डले ६ वटा उपभोक्त समितिसमेत गठन गरेको छ । भरतपुरका विभिन्न ठाउँसहित अन्य केही स्थानमा गरी १४ हजार पाँच सय घरधुरीका उपभोक्तामा खानेपानीको सहज आपूर्ति भइरहेको दाबी गरिएको छ ।
बोर्डले १६ वटा डिप बोरिङबाट दैनिक एक करोड ५० लाख लिटर बढी पानी वितरण गर्दै आएको छ । साथै बोर्डले नियमित रूपमा खानेपानीको महसुल नतिर्न ग्राहकको मिटर झिक्ने कामलाई समेत तीव्रता दिने जनाएको छ ।

प्रतिक्रिया