बजेट अभावले बिरामीको सुविधा रोकियो

चितवन, ३१ जेठ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालभित्र स्थापना भएको आर्थिक सहायता केन्द्रबाट बिरामीलाई दिइने सेवासुविधा रोकिएको छ । आर्थिक सहायतासम्बन्धी मापदण्ड २०६५ अनुसार क्यान्सर भएका बिरामीलाई सरकारबाट प्रतिव्यक्ति ५० हजार रुपियाँ प्रदान गर्नुपर्ने भए पनि बजेट अभावमा गत २ जेठदेखि लागू हुने गरी सेवा रोकिएको आर्थिक सहयता केन्द्रकी पवित्रा सुवेदीले बताइन् ।

औषधि उपचारसम्बन्धी सेवासुविधा नै रोकिएपछि बिरामीहरू मर्कामा परेका छन् । २०६६ साल असोज २९ गते स्थापना भएको यो केन्द्र पटक–पटक रोकिँदै सञ्चालन हुँदै आएको छ । बजेट अभावकै कारण देखाउँदै २०६९ जेठ २ गते बन्द भएको यो केन्द्र चैत २७ गते पुन: खुलेको थियो ।
एकातिर बजेट अभावमा बिरामीले पाउनुपर्ने स्वास्थ्य उपचारसम्बन्धी छुट पाएका छैनन् भने अर्कोतिर पहिलेको उधारो नतिरेकाले साझाले पनि औषधि दिएको छैन । अस्पतालले साझालाई तिर्नुपर्ने बक्यौता ७६ लाख रुपियाँ छ । अस्पतालले पैसा नदिँदा आफूहरूलाई समेत समस्या परेको साझाका काउन्टर इन्चार्ज हरिराज वाग्लेले बताए ।
आर्थिक सहायता केन्द्रबाट हालसम्म पाँच हजार ८ सय ९० जनाले ४५ लाख ८३ हजार ६ सय ६२ को सेवा पाएका छन् । जेठपछि आएका चार सय ९९ जना बिरामी भने सेवाबाट नै वञ्चित बनेका हुन् । अस्पताल प्रशासनले पहल गरी आर्थिक सहायता कार्यलाई निरन्तरता दिनुपर्ने क्यान्सर सेवा समाजका अध्यक्ष श्यामप्रसाद लामिछानेले बताए ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. विजय न्यौपाने मन्त्रालयबाट नियमित बजेट निकासा नहुँदा सहयोग रकम दिन नसकिएको बताए ।

प्रतिक्रिया