चरेस ओसारपसारमा संलग्न दुई अभियुक्त सार्वजनिक

काठमाडौं, ३१ जेठ । काठमाडौं भित्र्याउन लागिएको डेढ सय किलो चरेससहित मंगलबार राति पक्राउ परेका दुई अभियुक्तलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो नयाँ बानेश्वरले बिहीबार पत्रकार सम्मेलनमार्फत चरेस ओसारपसार तथा कारोबारमा संलग्न मकवानपुर मनहरी–७ का ट्रक चालक रामकुमार थापा र सोही ठाउँका रामकुमार गिरीलाई सार्वजनिक गरेको हो । उनीहरूले ना ३ ख ८३३६ नम्बरको ट्रकमा वास्तविक नम्बर प्लेट लुकाई ना २ ख ८०२९ नम्बरको नक्कलीे प्लेट जडान गरी ७५ डल्ला चरेस काठमाडौंतर्फ ल्याउँदै गर्दा बाड्भन्ज्याङमा नियन्त्रणमा लिइएको ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक केदार साउदले बताए ।
कार्टुन टेपले बेरिएको अवस्थामा ब्युरोले बरामद गरेका ती चरेसको तौल १ सय ५८ किलो रहेको प्रहरीले जनाएको छ । चरेस काठमाडौं ल्याएबापत ट्रक चालक थापाले ५० हजार ढुवानी भाडा लिएको स्वीकारेको प्रहरी वरिष्ठ उपरीक्षक रणबहादुर चन्दले बताए ।
अभियुक्त गिरी भने मकवानपुर र धादिङका विभिन्न स्थानबाट गाँजा तथा चरेस संकलन गरेर राजधानी तथा नेपाल–भारत सीमा क्षेत्र खासगरी बारा र पर्सा पुर्‍याउने कार्यमा लामो समयदेखि संलग्न रहिआएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । नेपालमा खासगरी मकवानपुर, धादिङ, बाग्लुङ, म्याग्दी, दार्चुला, अछामलगायत जिल्लामा बढी गाँजा खेती हुने गरेको तथ्यांक छ ।
मकवानपुरको उच्चपहाडी भेग सरिखेत, भार्ता र किरान्चोकमा अत्यधिक मात्रामा चरेस तयार गरेर राजधानी भित्र्याइने गरेको प्रहरीले जनाएको छ । राजधानी भित्र्याइएको चरेस हवाइमार्गबाट एसियाली मुलुक हुँदै युरोपसम्म पुग्ने अनुमान गरिएको छ ।
सन् २०१२ मा नेपाल प्रहरीले ४७ हजार किलो गाँजा र पाँच हजार १ सय ६९ किलो चरेस बरामद गरेको थियो । सो वर्ष लागुऔषध ओसारपसारमा संलग्न दुई हजार ६ सय २ मध्ये भारतीयसहित १ सय ९५ विदेशी र दुई हजार ४ सय ७ नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया