हस्तकला संरक्षणमा थारू महिला

Deukhuri-Tharu-Mahilaदेउखुरी, ३१ जेठ । थारू समुदायभित्र रहेको मौलिक सीप संरक्षणमा समुदायका अगुवा सक्रिय भएका छन् । वर्षांैदेखि प्रयोग र जिवीकोपार्जन गर्दै आएका परम्परागत सीप बाह्य प्रभावका कारण लोप हँदै गएको अवस्थामा देउखुरीका थारूहरू भने आफ्नो मौलिक सीप संरक्षण गर्ने अभियानमा छन् । ‘हाम्रो परम्परा लोप हुँदै जान थाल्यो’ ज्ञानु चौधरीले भनिन्, ‘संस्कृति नै हाम्रो पहिचान हो ।’ थारू समुदायभित्र रहेको हस्तकला संरक्षणमा थारू महिलाहरूको सक्रियता बढेको हो । बजारमा सहजै किन्न पाइने प्लास्टिक र धातुजन्य वस्तुका कारण थारू समुदायमा रहेका विभिन्न परम्परागत सीप लोप हुन थालेको गुनासो उनीहरूको छ ।

यसरी सक्रिय हुनेमध्येकी एक चैलाही–८ की मुन्नी चौधरी भन्छिन्, ‘हाम्रो पुरानो हस्तकलाका सामग्री बेना, डिलिया अहिले खोजेर पनि भेट्न गाह्रो छ,’ उनी अगाडि भन्छिन्, ‘त्यसैले यसको संरक्षणमा हामी लागेका हौँ ।’ महिलाहरू बेना, डिलिया, खोँघिया, खैँचा (गैँजा) र छत्रीलगायत बाँसजन्य पराम्परागत सामग्री संरक्षणमा लागेका छन् । थारू कल्याणकारिणी क्षेत्रीय समिति देउखुरीले महिलालाई उद्यमी बनाउन स्वरोजगारमुखी कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।
‘कला संस्कृतिको संरक्षणसँगै त्यसबाट आयआर्जन गर्न सजिलो हुने भएकाले यसखाले कार्यक्रम सञ्चालन गरेका हौँ,’ क्षेत्रीय सचिव छविलाल कोपिलाले भने, ‘थारू महिला उद्यमी बन्दै छन् ।’ यसैबीच नेपाल राष्ट्रिय जातीय संग्रहालय काठमाडौंको आर्थिक सहयोग एवं थारू कल्याणकारिणी सभा क्षेत्रीय समिति देउखुरीको आयोजनामा भएको ९ दिने थारू हस्तकला तालिममा हस्तकलासम्बन्धी तालीम दिइएको थियो । देउखुरीका सतबरिया, चैलाही र सोनपुर गाविसका थारू समुदायका महिलाको सहभागिता थियो । प्लास्टिकलगायत बाह्यवस्तु प्रयोगमा सजिलो भए पनि वातावरणमा प्रतिकूल असर पार्ने भएकाले स्थानीय कच्चापदार्थबाट बनेका सामग्री प्रयोगले मानव स्वास्थ्य र वातारणमा समेत सन्तुलन ल्याउने भएका हुँदा हरेक समुदायको मौलिक सीपबाटै मौलिक पहिचान झल्किने उद्देश्यले संरक्षण सम्बन्धी अभियान थालिएको हो ।
संग्रहालयले एकै साथ थारू, मगर, लिम्बु, राई र सुनुवार गरी ५ वटा जातिहरूको मौलिक परम्परागत सीपसम्बन्धी तालिम दिएको छ । थारू समुदाय देउखुरीको उत्तर मजगाउँ, मगर समुदाय दाङको सैघा, लिम्बुहरू पाँचथरको गोपेटार, राई जाति भोजपुरको सिन्द्राङ र सुनुवार रामेछापको रस्नालुमा सञ्चालन भएको तालिममा सहभागी रहेको सभाका क्षेत्रीय समितिका सचिव छविलाल कोपिलाले जानकारी दिए । चैलाही गाविस इकाई समितिका सभापति रामनारायण चौधरीको अध्यक्षता एवं आरम्भ खाबर साप्ताहिकका सम्पादक उदय आलेको प्रमुख आतिथ्यमा सम्पन्न भएको समापन समारोहमा प्रशिक्षक घनश्याम चौधरीले आफूले सिकेका सीप व्यवहारमा लागू गर्नसके तालिमले सार्थकता पाउने भएकाले सबै प्रशिक्षार्थीले आफू सिक्ने र अरूलाई सिकाउनुपर्ने धारणा राखे । कार्यक्रममा ज्ञानु चौधरी, लक्ष्मी चौधरी, उदयरानी चौधरी, अशकुमार चौधरीलगायतले मन्तव्य राखेका थिए । रेखा चौधरीको सञ्चालनबाट सुरु भएको कार्यक्रमाम परमेश्वर चौधरीले स्वागत गरेका थिए ।

प्रतिक्रिया