‘एक वर्षभित्र संविधान नबने जनमत संग्रहमा जानुपर्छ’

Madhav-nepal-1तानसेन, ३१ जेठ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको निर्वाचन सम्पन्न भएको एक वर्षभित्र नयाँ संविधान निर्माण गरिसक्नुपर्ने बताएका छन् । पाल्पाको मदनपोखरामा पोलिटेक्निकल इन्स्टिच्युटको बिहीबार शिलान्यास गर्दै उनले संविधान निर्माणका केही विवादित विषयमा जनमत संग्रह गरिनुपर्ने बताए ।

संघीयता र शासकीय स्वरूपका विषयमा सहमति गर्न पहल गरिने बताउँदै उनले आन्दोलनमा रहेका दलहरूलाई पनि सहमतिमा ल्याएर चुनावमा जानुपर्ने बताए । मंसिरमा चुनाव भएर एक वर्षसम्म पनि संविधान नबनेमा संक्रमणकालको अन्त्यका लागि जनमत संग्रहमा जानुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा पेसागत महासंघका केन्द्रीय सदस्य राजुमान पराजुली, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का महानिर्देशक गोपालकृष्ण श्रेष्ठ, पूर्व जिविस सभापति प्रेमनाथ बस्याल, पूर्व सांसद सोमप्रसाद पाण्डेलगायतले पोलिटेक्निकल इन्स्टिच्युटलाई अघि बढ्न सफलता मिलोस् भन्दै शुभकामना दिए ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्् सानोठिमी भक्तपुरको सहयोगमा निर्माण हुन लागेको इन्स्टिच्युटमा भेटनरी, जेटिए र कृषि विषय पढाइ हुनेछ । मदनपोखरा ६ र ७ मा रहेको करिब १० दशमलव २ हेक्टर क्षेत्रफलको जग्गा स्थानीय जनता र नेपाल सरकारबाट परिषद््लाई प्राप्त भएपछि ४० करोड रुपियाँको लागतमा इन्स्टिच्युट निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया