निर्वाचनको मिति घोषणा गरे परिणाम गम्भीर

mohan baidhya ji 1काठमाडौं, ३० जेठ । नेकपा–माओवादी, संघीय समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक मोर्चा (नेपाल)ले आफूहरुसँग सल्लाहानै नगरेर प्रमुख चार राजनीतिक शक्तिले निर्वाचनको मिति घोषणा गरे संयूक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनिहरुले आज (बिहीबार) संयूक्त विज्ञप्ति जारी गरेर ४ पक्षीय सिण्डिकेटको निर्देशनमा आन्दोलनरत पक्षहरुसँग सहमति नगरी अगाडि बढे गम्भीर अवस्था सृजना हुने जनाएका हुन् । उनीहरुले त्यसबाट आउने परिणामको स्वयं चार राजनीतिक शक्ति र सरकार हुने जनाएका छन् ।
‘चार पक्षीय सिण्डिकेटको निर्देशनमा आन्दोलनरत पक्षहरुसँग सहमति नगरी अगाडि बढेमा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं सरकार नै हुने कुरा पनि जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
उनिहरुले मुलुक अहिले प्रतिगामी तथा यथास्थितिवादी शक्तिहरु र परिवर्तनकारी राजनीतिक शक्तिबीचको सङ्घर्षबाट अगाडि बढिरहेको जनाएका छन् ।
४ वटा राजनीतिक शक्तिहरुले असंवैधानिक शक्ति केन्द्र खडा गरी ११ बुँदे सहमति गर्नु र राष्ट्रपतिबाट २५ बुँदे संविधान संशोधन आदेश जारी गर्नु त्यसैको परिणाम भएको उनिहरुको भनाई छ ।
यस्तो असंवैधानिक र अलोकतान्त्रिक आदेशको आधारमा देश सञ्चालन गर्नु र निर्वाचन प्रक्रिया अगाडि बढाउनु मुलुकलाई थप सङ्कटमा पार्नु रहेको विज्ञप्तिमा जनाईएको छ । ‘आन्दोलनरत हामी राजनीतिक शक्तिहरुसँग सहमति नगरी निर्वाचन प्रक्रिया अगाडि नबढाउन सचेत गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई र नेपाल सङ्घीय लोकतान्त्रिक मोर्चाका प्रवक्ता परशुराम तामाङले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया