मैनालीको विषयमा चलचित्र बनाइने

Govinda-Mainaliकाठमाडौं : १५ वर्ष जापानी जेलमा थुनिएपछि निर्दाष सावित भएका गोविन्द मैनालीको जीवनका भोगाइका विषयमा चलचित्र निर्माण गरिने भएको छ । चर्चित जापानी निर्देशक मासायुकी सुयोले यस विषयमा चलचित्र निर्माण गर्न लागेका हुन् । सोमबार टोकियोमा क्षतिपूर्ति माग गर्न आयोजना गरिएको एक समारोहमा सुयोले चलचित्रको घोषण गरेका हुन् ।
म मैनालीको सम्मानमा चलचित्र बनाउन चाहन्छु । सुयोको भनाइ उल्लेख गर्दै जापानका मिडियाले समाचार बनाएका छन् । ती समाचारमा सुयोले भनेका छन्, ‘एकपटक मैनालीलाई भेट्न मन लागेको छ र नेपाल पुगेर उनको परिवारलाई नजिकबाट बुझ्न मन लागेको छ ।’ निर्माता, निर्देशक र लेखकसमेत रहेका सुयोले सन् २००४ को चचिर्त हलिउड फिल्म ‘स्याल वी डान्स’ पनि निर्माण गरेका थिए । यस चलचित्रमा अभिनेता रिचर्ड गेर, जेनिफर लोपेथ, सुसन साराडनलगायतकाको अभिनय थियो ।
मैनालीको क्षतिपूर्ति समारोहमा वकिल, सेलिब्रेटीलगायत टोकियो उच्च अदालतका अवकास प्राप्त न्यायाधीश कुनियो हाराडालगायतको सहभागिता थियो । एक जापानी महिलाको बलात्कारपछि हत्याको आरोपमा मैनाली जेल परेका थिए । जेलमै बस्दा उनाले यो विषयमा ‘परिबन्ध’ पुस्तक पनि लेखेका छन् । केही महिनाअघि मात्र घर फकिर्एका उनको अन्तिम फैसला अझै बाँकी छ । (सौस)

प्रतिक्रिया