मुलुकभरका सुनचाँदी पसल बन्द

काठमाडौं, ३० जेठ । नेपाल सुन चाँदी व्यवसायी महासघंले सरकारले व्यवसायीको हकहितविपरीत काम गरेको भन्दै देशव्यापी रूपमा अनिश्चितकालीन आन्दोलन सुरु गरेको छ । व्यवसायीले सुनको मागअनुसारको आपूर्ति सहज बनाउनु पर्ने, अनुगमनसम्बन्धी नियम बनाउँदा व्यवसायीका सुझावलाई समेटिनुपर्ने, गरगहना बनाउन उपयोग हुने अत्याधुनिक औजारको आयात गर्दा सहुलियत उपलब्ध गराउनुपर्ने, सरकारले सुनचाँदी व्यवसायमा अनुगमन गर्ने नाममा व्यवसयीको मर्यादामा आँच आउने व्यवहार गरेको र विनामापदण्ड व्यवसायमा अनुगमन गरेको विरोधमा आन्दोलनमा उत्रेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष् मणिरत्न शाक्यले बताए । उनले भने, ‘सरकारले मापदण्ड बनाएर जसले मापदण्डविपरीत काम गर्छन्, उनीहरूलाई कारबाही गरे हुन्छ तर मापदण्ड नै नबनाई सरकारले व्यवसायीलाई दु:ख दिनु भएन ।’

अन्तर्राष्ट्रिय बजारमा विकसित प्रविधि तथा अत्याधुनिक यन्त्रबाट गरगहना निर्माण गरिने र नेपालमा परम्परागत ढंगले हातले कुँदेर गरगहना निर्माण गरिने चलन बिगतदेखि नै चलिआएको छ । नियमनको नाममा एकैचोटि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको नियम कार्यान्वयन गर्न नहुने उनको भनाइ छ । यी कुरालाई क्रमिक रूपमा परिमार्जन गरेर लैजान सरकारलाई आग्रह गरेको पनि अध्यक्ष शाक्यले बताए ।
यसअघि सरकारले व्यवसायीलाई अनुगमन गरेकै दिन महासंघले त्यसको स्वागत गर्दै तत्कालै सरकारले अनुगमनको मापदण्ड बनाउन भने पनि आजसम्म सरकारले त्यसमा आलटाल गरिरहेको आरोप शाक्यको छ । ‘सरकारले मापदण्ड बनाइदिए व्यवसायीलाई त्यसको बारेमा जानकारी गराउने र मापदण्डविपरीत कुनै व्यवसायीले कारोबार गरेको खण्डमा त्यस्ता व्यवसायीलाई कारबाही गर्न तयार छौँ,’ अध्यक्ष शाक्यले भने । सरकारले अनुगमनका क्रममा गरेका कारबाहीको जानकारी सबैले पाउनुपर्नेमा उनले जोड दिए । १ प्रतिशत व्यवसायी गलत र ९९ प्रतिशत सही भएमा सरकारले ९९ प्रतिशतलाई १ प्रतिशतमा दाँजेर हेर्नु नहुने औँल्याउँदै शाक्यले भने, ‘अनुगमनमा आउँदा अनुगमन कर्ताले प्रयोग गर्ने भाषाको पनि विकास गर्नुपर्छ ।’ सरकारलाई काम गरेर खान पाउने वातावरण सिर्जना गर्नुपर्ने भन्दै उनले त्यसका लागि मापदण्ड र आचारसंहिताको व्यवस्था गर्ने जिम्मेवारीबाट सरकार पछि हटेको आरोप लगाए ।
बन्दको कार्यक्रमलाई निरन्तरता दिँदै नेपाल राष्ट्र बैंकले निर्देशन गरेअनुसार विभिन्न वाणिज्य बैंकबाट आयात हुने दैनिक २० किलो सुन महासंघले बुधबार उठाएन । उनीहरूले सुनचाँदीको मूल्य पनि तय नगरी आन्दोलनलाई थप प्रभावकारी बनाएका छन् । महासंघले उपलब्ध गराएको तथ्यांकअनुसार मुलुकभर साढे ६ हजारको हाराहारीमा सुनचाँदी व्यवसायी रहेका छन् । जसमध्ये बाग्मती अञ्चलमा मात्रै एक हजार ५ सय ५० व्यवसायी छन् ।

प्रतिक्रिया