धनकुटाका ६ विद्यालयको नतिजा शून्य

धनकुटा, ३० जेठ । यस वर्षको एसएलसी परीक्षामा धनकुटा जिल्लामा ६ वटा सामुदायिक विद्यालयको नतिजा शून्य रहेको छ । जिल्ला शिक्षा कार्यालय धनकुटाले दिएको जानकारीअनुसार ती सामुदायिक विद्यालयको नतिजा शून्य रहेको हो । परीक्षामा सहभागी विद्यार्थीमध्ये नतिजा शून्य हुने विद्यालयमा ठाकुरदेवी उच्चमावि आखिँसल्ला, दामोदर मावि सिभुवा ताङखुवा, सिद्धदेवी मावि आखिँसल्ला, मुढेवास मावि मुढेवास, राम मावि लेउतिटार र भाषा उच्चमावि कागतेमा रहेको खुला विद्यालय रहेको छ । यसवर्षको एसएलसी परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालय गरी ८१ विद्यालयका नियमिततर्फका गरी दुई हजार आठ सय दश परीक्षार्थी सामेल भएका थिए । जिल्लाको नतिजा बर्षै पिच्छे घट्दै गएको र यस वर्ष गत वर्षको तुलनामा ६ दशमलव ६१ प्रतिशतले कमी आएको जिल्ला शिक्षा कार्यालय धनकुटाका उपसचिव पुष्पराज बरालले बताए । बरालले यसबर्ष २५ दशमलव शून्य दुई प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिए ।

गत वर्ष ३१ दशमलव ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा खस्कदै गएको पाइएको छ । जिल्ला शिक्षा कार्यालय धनकुटाका अनुसार जिल्लामा एउटा पनि सामुदायिक विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएनन् भने सात वटा संस्थागत विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् ।

प्रतिक्रिया