एसएलसी नतिजा सार्वजनिक

slcकाठमाडौं २९ जेठ । गत चैत पहिलो साता भएको प्रवेशिका परीक्षामा ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अघिल्लो वर्षको तुलनामा यो नतिजा ५ दशमलव ५९ प्रतिशतले कम हो ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले मंगलबार एसएलसी नतिजा सार्वजनिक गरेको हो । एक्जाम्टेडतर्फ ७ दशमलव ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।  परीक्षा सकिएको ८१ दिनमा पनिकाले नतिजा प्रकाशन गरेको हो ।
अघिल्लो वर्ष एसएलसीमा ४७ दशमलव १६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । पाँच वर्षदेखि एसएलसीको नतिजा क्रमश: खस्कँदो छ । ०६५ सालमा ६८ दशमलव ४७ प्रतिशत रहेको परीक्षाफल यस वर्ष ४१ दशमलव ५७ प्रतिशतमा झरेको छ ।
परीक्षा दिएका कुल ५ लाख ११ हजार १ सय ६५ विद्यार्थीमध्ये १ लाख ७६ हजार १ सय ५३ मात्रै उत्तीर्ण भएको परीक्षा नियन्त्रक खगराज बरालले बताए । नियमिततर्फ ४ लाख ३० हजार ९७ विद्यार्थीमध्ये १ लाख ६७ हजार ९ सय ३५ जना उत्तीर्ण भएका छन् । नतिजाअनुसार  नियमिततर्फ ४६ दशमलव ७८ प्रतिशत छात्र र ३६ दशमलव १५ प्रतिशत छात्रा उत्तीर्ण भएका छन् ।
९६ हजार ४ सय ५४ छात्र र ७१ हजार ४ सय ८१ छात्रा परीक्षामा उत्तीर्ण भएका छन् । त्यस्तै, एक्जाम्टेडतर्फ सहभागी १ लाख १७ हजार ६८ विद्यार्थीमध्ये ८ हजार ३ सय १८ मात्र उत्तीर्ण भएका छन् ।
शिक्षासचिव सोमलाल सुवेदीले परीक्षाफल सन्तोषजनक नभएको बताए । ‘लगानीअनुसार परीक्षफल सन्तोषजनक भएन,’ उनले भने, ‘१० वर्षको लगानीको प्रतिफल आएन ।’ परीक्षा मर्यादित भएका कारण परीक्षाफल घटेको हुनसक्ने उनले बताए । परीक्षाफल कम हुनाको कारण पत्ता लगाउन अध्ययन टोली गठन गरिने सचिव सुवेदीले बताए ।
पनिकाले यस वर्ष ६२ जिल्लामा होमसेन्टर खारेज गरेको थियो । होमसेन्टर नभएका प्रत्येक जिल्लाका एक परीक्षाकेन्द्र र एक केन्द्राध्यक्षलाई विद्यार्थी उत्तीर्णका आधारमा प्रोत्साहनस्वरूप पुरस्कार दिने भएको छ । विद्यार्थी उत्तीर्णका आधारमा परीक्षाकेन्द्रलाई १५ हजार र केन्द्राध्यक्षलाई १० हजार पुरस्कार दिइने नियन्त्रक बरालले बताए ।
उपनियन्त्रक प्रल्हाद अर्यालले दुई विषयमा अनुत्तीर्ण भएकालाई ५ ग्रेसमार्क दिएर उत्तीर्ण गराइएको बताए । ‘५ नम्बरका कारण उत्तीर्ण हुन नसकेकालाई ग्रेसमार्क दिएर उत्तीर्ण गराइएको छ,’ उपनियन्त्रक अर्यालले भने । उनका अनुसार ५ ग्रेसमार्क  दिएर यस वर्ष १४ हजार २ सय ८३ विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये नियमिततर्फ १२ हजार २ सय ६ र एक्जाम्टेडतर्फ २ हजार ७७ विद्यार्थी रहेका छन् ।
परीक्षा नियन्त्रक बरालले ४ सय २८ जना परीक्षार्थीलाई अमर्यादित आचरण प्रदर्शन गरेकाले कारबाही गरिएको बताए । ३ सय १ जना परीक्षार्थीको एक विषय, ४ जना परीक्षार्थीको दुई विषय र १ सय २३ जना परीक्षार्थीको सबै विषय रद्द गरिएको छ ।
यसैगरी, परीक्षामा अमर्यादित आचरण प्रदर्शन गर्ने ७ जना परीक्षार्थीलाई दुई वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गरिएको छ । उनीहरूले आगामी वर्ष पनि परीक्षा दिन पाउने छैनन् । त्यस्तै, परीक्षाको मर्यादाविपरीत काम गर्ने २ सय ५ जना निरीक्षकलाई पनि पनिकाले कारबाही गरेको छ । नियमिततर्फ ८ सय १८ विद्यार्थीको र एक्जाम्टेडतर्फ १ सय ८ परीक्षार्थीको परीक्षाफल रोकिएको छ ।
परीक्षा नियन्त्रक बरालका अनुसार नियमिततर्फ १६ हजार ९ सय २४ विद्यार्थी विशिष्ट श्रेणीमा पास भएका छन् । सबभन्दा कम तृतीय श्रेणीमा परीक्षार्थी उत्तीर्ण भएका छन् । तृतीय श्रेणीमा ५ हजार १६ विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणीमा १० हजार २ सय ६३ छात्र र ६ हजार ६ सय ६१ छात्रा उत्तीर्ण भएका छन् । त्यस्तै, प्रथम श्रेणीमा ७६  हजार १ सय ६५ विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये छात्र ४४ हजार ६ सय २३ र छात्रा ३१ हजार ५ सय ४२ रहेका छन् । द्वितीय श्रेणीमा ६९ हजार ८ सय ३० विद्यार्थी उत्तीण भएका छन् । जसमध्ये छात्र ३८ हजार ७ सय ३२ र छात्रा ३१ हजार ९८ छन् ।
त्यसैगरी, एक्जाम्टेडतर्फ १ सय १७ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । जसमध्ये छात्र ६७ र छात्रा ५० छन् । द्वितीय श्रेणीमा ५ हजार ८ सय ४८ परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमध्ये २ हजार ६ सय १७ छात्र र ३ हजार २ सय ३१ छात्रा रहेका छन् । त्यस्तै, तृतीय श्रेणीमा २ हजार ३ सय ५३ विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये छात्र १ हजार १ सय ३७ र छात्रा १ हजार २ सय १६ रहेका छन् ।
आवेदन फारम भरेका २० हजार १ सय ५ विद्यार्थी अयोग्य भएका थिए । कक्षा १० मा ७५ प्रतिशत हाजिरी नपुगेका विद्यार्थीलाई पनिकाले अयोग्य घोषित गर्दै परीक्षा दिनबाट वञ्चित गराउने गरेको छ । एलएलसीको उत्तरपुस्तिका ६० केन्द्रमा १६ हजार परीक्षकले  परीक्षण गरेका थिए । चैत १ बाट सुरु भएको एसएलसी १ हजार ७ सय ८६ परीक्षाकेन्द्रमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया