व्यावसायिक गाईपालनबाट लाखौं आम्दानी

भैरहवा, २९ जेठ । व्यावसायिक गाईपालनबाट यहाँका एक किसानले मासिक लाखौँ आम्दानी गर्न सफल भएका छन् । जिल्लाको टिकुलिगढ गाविस–७ मा केही वर्षअगाडि दस बिगाह जग्गा खरिद गरी व्यावासायिक गाईपालन व्यवसाय गर्दै शशी पौडेलले दूध बेचेर मात्रै मासिक ६० हजारदेखि ८० हजारसम्म आम्दानी गरिरहेका छन् भने गाईको गोबर बेच्दा मासिक सरदर एक लाखको हाराहारीमा आम्दानी गर्न सफल भएका छन् ।
सुरुवातीका दिनमा समूहमा व्यवसाय गर्दै आएका पाडेलले अहिले एक्लै यो व्यवसायको संरक्षण, प्रबद्र्धनमा लागि परेकाछन् । सम्भवत: नेपालकै सबैभन्दा ठूलो व्यावसायिक गाई फारम मानिने लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिसर्च सेन्टरले दैनिक १३ सयदेखि १४ सय लिटर दूध बिक्री गर्ने गरेको सेन्टरका प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए । गाईको दूधको बजार भाऊ सरदरप्रति लिटर ५० रुपियाँ पर्दछ । यहाँको दूधको मुख्य बजार बुटवल हो । फारममा होलस्टिन, जर्सी, ब्राउन स्विस जस्ता उन्नत जातका तीन सय ५० वटा गाई छन् । आधुनिक प्रविधिको प्रयोग भएको गौशालामा गाई वासस्थान, लैना गाई दुहुने–दूधशाला, साना बाच्छा बस्ने ठाउँ, उमेर समूहअनुसार अलग–अलग बासंस्थानको समुचित व्यवस्था छ ।
प्रतिदिन झन्डै ३० टन मलखाद उत्पादन हुने उक्त सेन्टरबाट केही दिनमै बायो ग्याँस प्लान्ट पनि निर्माण हुने भएको छ । बायो ग्याँस प्लान्टका लागि विश्व बैंकले प्रारिम्भक अध्ययन गरी छनौटको सूचीमा राखेको  र सहयोगका लागि ७७ लाख अमेरिकन डलर अनुदानको रूपमा दिने बचन दिएको सेन्टरका प्रबन्धक पौडेलले बताए । बायो ग्याँस प्लान्ट सात सय ५० घनमिटर क्षेत्रफलमा झन्डै एक करोड लगानीमा निर्माण गरिने जनाइएको छ । बायो ग्यास प्लान्ट निर्माण भएमा कम्पनीलाई चाहिएभन्दा बढी विद्युत् गाउँमा वितरण गरिने पनि उनले जनाए ।
गाई प्रजनन केन्द्रका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको पौडेलको भनाइ छ । उनले भने, ‘नेपालमा उन्नत जातका बाच्छाबाच्छी पाउने राम्रो ठाउँ छैन त्यसैले हामीले यसलाई प्रजनन केन्द्रको रूपमा पनि विकास गर्दैछौँ । यसको तयारी भइरहेको छ ।’
यसरी एकातिर दूध बेचेर मनग्य आम्दानी गरिरहेका पौडेल अर्कोतिर बहुआयामिक स्वरूपको उद्योग व्यापार बायोग्यास प्लान्ट र प्रजनन् केन्द्र खोल्ने तयारीमा दिन रात जुटिरहेको बताउछन् । सेन्टरले बायो ग्याँसप्लान्ट र प्रजनन् केन्द्रको अतिरिक्त कम्पोस्ट मल प्लान्ट, केटल फिड सेन्टर, डेरी प्रोडक्सन, भेटनरी डिप्लोमा,  अर्गानिक रिर्सोटलगायतका बहुआयामिक काम गर्ने लक्ष्य लिएको छ ।
वैज्ञानिक पशु फारमको मापदण्डभित्र रहेर व्यावसायिक गाई पालन हुँदै आएको फारम झट्ट हेर्दा विदेशी पशु फार्म जस्तो लाग्ने गर्दछ । यस गौशालाका गाई दूध दुहुने बेला आफैँ दूध दुहुने ठाउँमा आइपुग्छन् । दूध दुहुनका लागि कर्मचारी मिल्किङ मेसिन लिएर तयारी हुन्छन् । पालोमा आएको गाईको कचौडामा मेसिन लगाइन्छ । मेसिनले झन्डै सात मिनेटमा एउटा गाई दुहेर सिध्याउँछ ।
घाँस काट्ने मेसिनले, दूध दुहुने मेसिनले, दूध चिस्याउने मेसिन जस्ता आधुनिक प्रविधिको प्रयोग भएको यस सेन्टरको आजसम्मकै लागत झन्डै ३५ करोड रुपियाँ बराबर रहेको प्रबन्धकको दाबी छ । नेपालका लगभग सबैजसो राजनीतिक दलका प्रमुख, पूर्वप्रधानमन्त्री एवं प्रशासनिक निकाय र कृषि अनुसन्धान क्षेत्रका ज्ञाताले प्रत्यक्ष क्षेत्रगत अवलोकन गरिसकेको सो सेन्टर अवलोकनकै लागि दैनिक दर्जनौँ कृषक आउने गर्दछन् ।
मुलुकमा दैनिक चार लाख लिटर दूधको अभाव भइरहेको बेला उत्पादित सयौँ लिटर दूधले एकातिर ठूलो राहत दिन्छ भने अर्कोतिर यहाँको प्रांगारिक मलले उब्जाउ बढाउनेछ । सेन्टरले ३५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । कृषिप्रधान देश नेपालको नमूना पशु फार्मको रूपमा परिचित लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिसर्च सेन्टरले थपउत्पादनमुखी कार्य गर्ने लक्ष्य लिएको छ । सेन्टरको कार्य देखेर नै सरकारले गणतन्त्र दिवसको अवसरमा विकास रत्न २०७० ले सम्मान गर्ने घोषणासमेत गरिसकेको छ । सरकारको सम्मानले आफूहरूलाई उत्साहित बनाएको पौडेलले प्रतिक्रिया दिए । उनले भने, ‘सरकारले हामीलाई सम्मान गर्ने घोषणा गरेर काममा उत्साह थपिदिएको छ ।’

प्रतिक्रिया