८ सय बढी अपाङ्गहरुले परिचयपत्र पाए

रोल्पा, २८ जेठ । रोल्पा जिल्लामा हालसम्म ८ सय ५१ जना अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् ।
परिचयपत्र पाउनेहरुमा ३ सय ३१ जना महिला र ५ सय २० जना पुरुष अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । वर्गीकृत परिचय पत्र वितरण गर्नेे प्रावधान अनुसार ४२ जनालाई पूर्ण अपाङ्गता (रातो) परिचयपत्र, त्यस्तै १ सय ७६ जनालाई अति अशक्त (निलो) परिचयपत्र प्रदान गरिएको छ भने २ सय ८२ जनालाई अशक्त (पहेँलो) परिचयपत्र प्रदान गरिएको छ । त्यसैगरी ३ सय ५१ जनालालाई सामान्य अपाङ्ग (सेतो) परिचयपत्र उपलब्ध गराइएको महिला तथा बालबालिका कार्यालय रोल्पाले जनाएको छ ।
नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारी सेवा÷सुविधा प्रदान गर्ने उद्देश्यले देशका विभिन्न जिल्लाहरुमा विभिन्न वर्गमा वर्गीकृत परिचयपत्र वितरण गर्न थालेपछि रोल्पामा पनि उक्त कार्य शुरु गरिएको हो । केही वर्ष अगाडि जिल्ला प्रशासन कार्यालय रोल्पाबाट समान किसिमको परिचयपत्र वितरण गरिएको भएपनि विगत केही समययता महिला तथा बालबालिका कार्यालयमार्फत वर्गीकरण गरिएका चार किसिमका परिचयपत्र वितरण गर्ने कार्य थालिएको थियो ।
गाविसको कार्यालयमार्फत फाराम भरी चिकित्सकले उपलब्ध गराएको अपाङ्गता प्रमाणित भएको सिफारिसको आधारमा उनीहरुलाई वर्गीकृत परिचय पत्र दिइने महिला तथा बालबालिका कार्यालय रोल्पाकी महिला विकास अधिकृत अनिता अधिकारी बताउँछिन् । परिचयपत्र प्राप्त गरेपछि उनीहरुलाई सरकारले अपाङ्गता राहत स्वरुप प्रदान गर्ने भत्ता मात्र नभई शिक्षा, स्वास्थ्य, लगायतका क्षेत्रमा निःशुल्क सेवा सुविधा लिन सक्ने व्यवस्था गरिएको छ ।
यसैबीच महिला तथा बालबालिका कार्यालय रोल्पाले जिल्लाभरका अपाङ्गता भएकाहरुका लागि अपाङ्ग कल्याण समाज रोल्पामार्फत समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत वार्षिक रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको अधिकृत अधिकारीको भनाइ छ । अधिकारीका अनुसार कार्यालयले जिल्लाका ५१ वटै गाविसमा रहेका सम्पूर्ण जेष्ठ नागरिकहरुको विवरण समेत संकलन गरिरहेको छ ।

प्रतिक्रिया