ठगी गर्ने म्यानपावरमाथि अनुगमन

काठामाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि जाने कामदारलाई विभिन्न बहानामा ठग्ने गरेको उजुरी विभागमा परेपछि विभागले त्यस्ता म्यानपावर कम्पनीप्रति अनुगमन बढाएको छ ।
विशेष गरी म्यानपावर व्यवसायीले नेपाली कामदारलाई रोजगारीमा पठाउनका लागि वैदेशिक रोजगार विभागमा एउटा कन्ट्रयाक पेपर बनाएर ल्याउने र कामदारलाई अर्को काममा पठाउने, विज्ञापनमा तोकेको जति तलब–भत्ता रोजगार दाता कम्पनीले नदिने, खाने बस्ने सेवा सुविधा, काम गर्ने समयलगायत कुरामा विज्ञापन गरेको भन्दा फरक पर्ने गरेको छ ।
विभागका प्रवक्ता दिवस आचार्यका अनुसार कामदारले कम्पनीमा पैसा तिर्दा कम्पनीले रसिद नदिएको, परामर्शदाता नभएको, पासपोर्ट लिएका कामदारलाई समयमा वैदेशिक रोजगारमा नपठाएको लगायत विषयमा विभागले अनुगमन गर्ने गरेको छ । कम्पनीले गल्ती गरेको पाइएमा कम्पनीलाई एक साता निलम्बन र ५० हजारदेखि ३ लाखसम्म जरिवाना गर्ने गरेको पनि उनले बताए । यो जरिवाना क्षतिपूर्तिबाहेकको रकम हो । विभागले कुनै निश्चित समयमा अनुगमन नगरे जुनसुकै समयमा पनि अनुगमन गर्ने र विशेष सूचनाका आधारमा अनुगमन गर्ने गरेको उनले बताए । अघिल्लो साता यस्तै ठगी गर्ने ५० वटा म्यानपावर कम्पनीलाई विभागले कारबाही गरिसकेको छ ।
कामदारद्वारा ज्ञापनपत्र
वैदेशिक रोजगारीका लागि आकर्षक र नेपाली कामदारले विशेष आकर्षक मानएको देश दक्षिण कोरियामा रोजगारीका लागि सबै प्रक्रिया पुर्‍याएर पनि २ वर्षसम्म कोरिया जान नपाएका नेपाली कामदारले विभागका महानिर्देशक विनोद केसीलाई ज्ञापनपत्र बुझाएका छन् । पत्रमा उनीहरूले कोरियामा काम गर्न जान पाउने आशामा लामो समयदेखि रहेको र आफूभन्दा पछाडि नाम भएकाले भने आगामी अक्टोबरमा परीक्षा दिन लागेकाले उक्त ज्ञापनपत्र बुझाएका हुन् । उता, रोजगार अनुमति प्रणाली (इपिएस) का निर्देशक इडोङसकले भने, ‘२०१३ को परीक्षापछि २०११मा कोरियामा जानयोग्य कामदारलाई कोरिया लगिन्छ । परीक्षा ढिलो गर्दा विद्यार्थीको चाप बढ्ने भएकाले आगामी अक्टोबरमा परीक्षा सञ्चालन गर्न लागेको उनले बताए ।

प्रतिक्रिया