जिल्लाको स्वास्थ्य सेवा प्रभावित

जाजरकोट, २८ जेठ । जिल्ला अस्पताल जाजरकोटमा चिकित्सकको माग गर्दै नागरिक सरोकार समितिले गरेको तालाबन्दी पाँच दिनसम्म खुलेको छैन । तालाबन्दीका कारण जिल्लाको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

जिल्ला डाक्टरविहीन भएको लामो समय बितिसक्दासमेत सरकारले चिकित्सक नपठाएको भन्दै नागरिक सरोकार समिति जाजरकोटले बिहीबार जिल्ला अस्पताला तीनवटा ताला लगाएका थिए । तालाबन्दीका कारण आकस्मिक सेवाबाहेक कार्यालयको सम्पूर्ण कामकाज बन्द छ । ताला खुलाउने विषयमा स्थानीय प्रशासनले थालेको प्रयास विफल भएको छ ।
आन्दोलनकारीले चिकित्सक नआउँदासम्म वार्तामै नबस्ने अडान लिएपछि ताला खुलाउने प्रयास विफल भएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले आन्दोलनकारीका मागका सम्बन्धमा सम्बन्धित निकायमा पहल भइरहेकोले ताला नखोले स्थानीय प्रशासनले बल प्रयोग गरेर भए पनि ताला खुलाउने दाबी गरे । ‘यस विषयमा सम्बन्धित निकायमा कुरा भइरहेको छ,’ शर्माले भने, ‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गरिएको तालाबन्दी नखुले बल प्रयोग गरेरै भए पनि खोल्छौँ ।’
दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको तत्काल ब्यवस्था गर्नु पर्ने, अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनु पर्ने, भिडियो एक्सरे, इसिजीलगायतका सेवा उपलब्ध गराउनु पर्ने माग गदै आन्दोलनमा उत्रिएका स्थानीयवासिन्दाले जिल्ला अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यालयको प्रशासन, लेखा र कार्यालय प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिदिएका छन् ।
जिल्ला अस्पतालमा डाक्टरको व्यवस्था गर्न जिल्ला स्वास्थ्य कार्यालयमार्फत बारम्बार माग गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरिएको नागरिक सरोकार समितिका दीपेन्द्र शर्माले बताए । उनले माग सुनुवाइ नभएसम्म तालाबन्दी जारी रहने बताए । तालाबन्दीसँगै आन्दोलनकारीका तर्फबाट जिल्ला जनस्वास्थ्य प्रमुखमार्फत सरकारलाई पाँच बँुदे ज्ञापनपत्रसमेत बुझाइएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा गरी पाँच जना चिकित्सकको दरबन्दी भए पनि हाल सवै दरबन्दी खाली भएका छन् । जिल्ला अस्पतालमा कार्यरत डा. विवेककुमार लाल एक महिनाअघि सरूवा भएपछि जिल्ला चिकित्सकविहीन भएको थियो । जिल्लामा कार्यरत अर्का डाक्टर गणेश थापा यसअघि नै क्षेत्रीय अस्पताल सुर्खेतमा काज सरूवा भइसकेका छन् । १५ शैयाको जिल्ला अस्पतालमा चिकित्सक नहुँदा अहिले अहेवको भरमा चलिरहेको छ । अस्पतालमा यतिबेला बिरामीको रोग पहिचानका लागि आवश्यक पर्ने एक्सरे, इसिजी, नेगुलाइजर, एनालाइजर, एलएफ्टी, इको, इसिजी, ल्याब सेवा, भिडियो एक्सरेलगायतका अत्यावश्यक उपकरण हुँदाहँुदै पनि विद्युत् र जनशक्तिको अभावमा प्रयोगविहीन छन् ।
झाडापखाला तथा विभिन्न माहामारिजन्य रोग देखा पर्ने समयमा एउटा पनि डाक्टर जिल्लामा नहुँदा स्थानीय निकै आक्रोशित छन् । २०६६ सालको झाडापखालाबाट जाजरकोटमा झण्डै तीन सय नागरिकले ज्यान गुमाएका थिए । ३५ वर्ष पुराना अस्पतालका भवन पनि जिर्ण बन्दै गइरहेका छन् ।

प्रतिक्रिया