पर्शुराम जेल चलान

Prashu-Ram-Basnetकाठमाडौं, २८ जेठ । गुन्डागर्दी धन्धाबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका एमाले भ्रातृसंगठन युवा संघ नेपालका केन्द्रीय सदस्य तथा चर्चित डन पर्शुराम बस्नेत उर्फ कृष्ण बस्नेत कारागार चलान भएका छन् । विषेश अदातलले मागेको २ करोड धरौटी बुझाउन नसकेपछि सोमबार बस्नेतलाई पुर्पक्षका लागि केन्द्रीय कारागार जगनाथदेवल चलान गरिएको हो ।

बस्नेतले अदालतले मागेको धरौटी जम्मा गर्न विराटनगरमा भएको जायजेथा राख्न निवेदन सोमबारै अदालतमा पेस गरेका थिए । तर, कानुनी प्रक्रिया नमिल्दा धरौटी जम्मा हुन नसकेका कारण उनलाई कारागार चलान गरिएको प्रवक्ता धीरबहादुर चन्दले जानकारी दिए । विषेश अदालतका अध्यक्ष न्यायाधीश केदारप्रसाद चालिसे र सदस्य न्यायाधीशद्वय मोहनरमण भट्टराई तथा भूपेन्द्रप्रसाद राईको इजलासले प्रारम्भिक सुनुवाइपछि बस्नेतसँग २ करोड धरौटी मागेको हो । विशेषले उनकी श्रीमती अन्जुसिंह बस्नेतलाई विनाधरौटी छोड्ने आदेश दिएको छ ।
बस्नेतले गुन्डागर्दी र ठेक्कापट्टाबाट गैरकानुनी रूपमा ११ करोड ६१ लाख ४१ हजार ९ सय ७७ बराबरको सम्पत्ति आर्जन गरेको ठहर गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५ जेठमा उनीसहित ५ डनविरुद्ध मुद्दा दायर गरेको थियो । दायर भएको मुद्दामा वस्नेतकी श्रीमती अन्जुलाई विपक्ष बनाइए पनि अदालतले उनलाई प्रारम्भिक सुनुवाइमा दोषी नदेखेपछि साधरण तारेखमा छोड्ने आदेश दिएको छ । बस्नेत सोमबार श्रीमती अन्जुसहित बिहान साढे ११ बजे विशेष अदालतमा उपस्थित भएका थिए । अदालतमा भएको थुनछेक बहसपछि उनलाई २ करोड धरौटी मागिएको थियो ।
अनुसन्धान विभागले विराटनगर निवासी बस्नेत र उनीकी पत्नीका नाममा ११ करोड ६१ लाख ४१ हजार ९ सय ७७ बराबरको गैरकानुनी सम्पत्ति रहेको जिकिर गर्दै बिगोबराबरको जरिवानासहित एक वर्षदेखि चार वर्षसम्मको कैद सजाय मागेको थियो । दायर मुद्दामा उनका नाममा रहेको ११ कित्ता जमिन, बा ८ च ३६२८ नम्बरको होन्डाई कार, को १ च ४२५५ नम्बरको कार र बैंक रकम जफत गर्न माग गरेको थियो ।
विभिन्न अपराधजन्य क्रियाकलापमा संलग्न रही गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बस्नेतसहित पाँच डन र उनीहरूका श्रीमतीविरुद्ध विशेष मुद्दा दायर गरेको थियो । अनुसन्धान विभागले गणेश लामा र उनकी पत्नी लक्ष्मी लामा, राजीव गुरुङ उर्फ दीपक मनाङे उनकी पत्नी पासाङडोमा गुरुङ, चक्रे मिलन उनकी पत्नी इन्द्रा घले गुरुङ र अभिषेक गिरी उनकी पत्नी अनिषा गिरीविरुद्ध मुद्दा दायर गरेको थियो । विभागले सबैलाई फरारी मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर भएपछि विशेषले पाँच जना र उनीहरूका श्रीमतीविरुद्ध म्यादपुर्जी जारी गर्न जिल्ला अदालतमा पत्राचार गरेको थियो । जिल्ला अदालतले बस्नेतलाई मात्र म्याद पुर्जी बुझाउन सकेको थियो भने हालसम्म अन्य चार जनालाई म्याद पुर्जी बुझाउन सकेको छैन । मुद्दा दायर गर्दा घरठेगाना गलत परेका कारण म्याद पुर्जी बुझाउन नसकेको जिल्ला अदालतले जनाएका छन् ।

प्रतिक्रिया