त्रिवि पदाधिकारीको राजीनामा माग

काठमाडौं : एकीकृत माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन नसकेको भन्दै क्रान्तिकारीले त्रिवि पदाधिकारीको राजीनामा मागेको हो ।
क्रान्तिकारीले आइतबार स्ववियु चुनाव गर्न नसकेकोमा उपकुलपति, रजिस्ट्रार र रेक्ट्ररको राजीनामा माग गर्दै त्रिविमा ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीका सचिव मदन अर्यालले स्ववियु चुनाव गराउन नसक्ने पदाधिकारीको राजीनामा माग गरिएको जानकारी गराए । आइतबार स्ववियु चुनावसम्बन्धी छलफल गर्न गएको टोलीसँग पनि त्रिवि पदाधिकारी बसेका थिएनन् ।
‘अहिलेका पदाधिकारीले स्ववियु चुनाव गराउन सक्दैनन्,’ अर्यालले भने, ‘न चुनाव गर्ने न त नयाँ मिति घोषणा गर्ने पदाधिकारीले राजीनामा दिनुपर्छ ।’
क्रान्तिकारीले आइतबारभित्र चुनावको नयाँ मिति घोषणा गर्न अल्टिमेटम दिएको थियो । विद्यार्थी संगठनहरूबीच विद्यार्थी भर्नामा विवाद बढेपछि २३ जेठका लागि तोकिएको चुनाव त्रिविले अन्तिम समयमा स्थगन गरेको थियो । (सौस)

प्रतिक्रिया