जेलबाङमा ‘युद्ध पर्यटन’को पहल

रोल्पा, २७ जेठ । तत्कालीन नेकपा (माओवादी)ले चलाएको सशस्त्र युद्धको १० वर्षको अवधिमा सबैभन्दा बढीले ज्यान गुमाएको क्षेत्र रोल्पाको जेलबाङ गाउँलाई ‘युद्ध पर्यटकीय’ स्थल बनाउन पहल थालिएको छ । युद्ध पर्यटनको प्रबल सम्भावना भए पनि प्रचार र व्यवस्थापन अभाव रहेकामा अब भने पर्यटनकै माध्यमबाट जेलबाङको विकास गर्न लागिएको हो ।

युद्ध पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याउन भएका प्रयासले मूर्तरूप लिन नसकिरहेका बेला नेपाल पर्यटन बोर्डअन्तर्गत तारा गाउँ विकास समितिले जेलबाङको सम्भाव्यताबारे अध्ययन गरेको छ । माओवादीले युद्धका बेला ध्वस्त पारेका तथा ‘जनसत्ता’ले निर्माण गरेका भौतिक संरचनाको संरक्षण गरी पशुपालन, तरकारी खेती, जडीबुटी खेती, घरेलु तथा साना उद्योग र खनिज पदार्थ उत्खनन गरी गाउँको विकास गर्न सकिने सरोकारवालाको ठम्याइ छ ।
देशमा गणतन्त्र स्थापनाका लागि जेलबाङले युद्धकालमा उच्च बलिदान गरेकाले पनि युद्ध पर्यटनको प्रवद्र्धन गरीे विकास गर्न सकिने अध्ययनले देखाएको छ । तारा गाउँ विकास समितिको आयोजना र जिल्लाका सरोकारवाला निकायहरूबीच भएको ग्रामीण पर्यटन प्रवद्र्धन विषयक अन्तक्र्रियामा विगतमा युद्धबाट सबैभन्दा धेरै आक्रान्त भएको जेलबाङबाट आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सकिने निष्कर्ष निकालिएको हो । तारा गाउँ विकास समितिको टोलीलाई त्यहाँको वस्तुस्थितिबारे स्थानीयवासीले जानकारी गराएका थिए । उनीहरूले युद्धका बेला भएका भौतिक क्षतिको भग्नावशेषको संरक्षण, युद्धका बेला मारिएकाको स्तम्भ निर्माण गर्नुपर्ने बताएका थिए ।
शान्ति प्रक्रियामा आएपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले देशका विभिन्न सात गाविसमध्ये जेलबाङलाई पनि शान्ति गाउँका रूपमा परिभाषित गरेको थियो । शान्ति गाउँका रूपमा नामकरण भएपछि जेलबाङको भौतिक पूर्वाधार विकास गर्न सरकारले तीन करोडभन्दा बढी खर्च गरिसकेको छ । युद्धका बेला आफैँले निर्माण गरेको लघुजलविद्युत् अहिले बन्द छ भने शान्ति–प्रक्रियापछि भौतिक पूर्वाधारका रूपमा २५ किलोमिटरको कच्ची सडकले गाउँलाई छोएको छ ।
बाग्लुङको ढोरपाटन हुँदै जलजलाबाट जेलबाङ शूलीचौरसम्मको क्षेत्र ‘गुरिल्ला ट्रेकिङ’ बनाउन सकिने र त्यहाँको जीवनशैली, सामाजिक र आर्थिक प्रणाली प्रभावित नहुने गरी पर्यटन प्रवद्र्धन गर्न सकिने अधिकारकर्मीको भनाइ छ । ९९ प्रतिशत मगर र एक प्रतिशत दलित समुदायको बसोबास रहेको जेलबाङ गाविस पर्यटन विकासको हिसाबले दह्रो सम्भाव्यता भएको क्षेत्र रहेको अध्ययनकर्ता बताउँछन् । सुरुमा होमस्टेको विकास गरी पर्यटकलाई आकर्षित गर्न सकिने तारा गाउँ विकास समितिको अध्ययन टोली प्रमुख मदनगोपाल बानियाँले बताए ।

प्रतिक्रिया