सुकुम्बासीले पुर्जा पाएनन्

sukumbashi-deukhuriदेउखुरी, २७ जेठ । दु:खराम सार्की आफ्नो बस्तीको समस्या लिएर सरोकारवाला निकाय समक्ष धाउन थालेको वर्षौँ भइसक्यो । तीन पुस्तादेखि सुकुम्बासी बस्तीमा पुर्जाविनै जीवन काटिरहेका छन् । लालमटीया–७ बराखुट्टीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका दु:खरामले जीवनमा निकै दु:ख भोगे । उनको दु:ख अझै हराएको छैन् । ‘पुर्जाविहीन जिन्दगी छ,’ उनले भने, ‘हाम्रो समस्या कस्ले बुझिदिने ।’

नेताको आश्वासनअनुसार नै भोट हालियो । जिताएर पनि पठाए पनि उनले भोग्दै आएको समस्यामा केही फेर बदल भएन् । बरु झन् समस्यामाथि समस्या थपियो । साँझ बिहान छाक टार्न चाहिने दाल, चामल, नुन, तेल सबैको मूल्य आकासियो तर, उनीहरूको जीवन सुधार्न कुनै पनि काम भएन् । ‘अबको निर्वाचनमा भोट हाल्न हाम्रो शर्त छ,’ उनले भने, ‘पहिला हाम्रो गाँस, बाँस, कपासको ज्ञारेन्टी अनि मात्र भोट ।’ जसले सुकुम्बासी बस्तीमा यी सबै खाले सेवा सुविधा पहिले पुर्‍याउँछ त्यसैलाई भोट दिने अर्का सुकुम्बासी छन्ती रावतले बताइन् । ‘अभावको जीवन ज्यून निकै सकसपूर्ण छ,’ उनले भनिन्, ‘यहाँ साँझ बिहानको छाक कसरी टार्ने भन्ने पिरलो छ । कहाँ छोराछोरीको पढाइ लेखाइ औषधि उपचार त परै जावस ।’ सरकारले १३ वर्षअघि कमैया मुक्तिको घोषणा गर्‍यो । तर, अहिलेसम्म मुक्त कमैयाको उचित व्यवस्थापन हुन सकेको छैन । अर्काको घरमा कमैया जीवन बिताएकाहरू अझै पनि जग्गाविहीन छन् । भूमिहीन किसानले अहिलेसम्म धेरै निर्वाचनमा भाग लिए । लालमटीया–७ बराखुटीका सुकुम्बासीले अब हुने संविधानसभा निर्वाचनमा गाउँ बस्ने नेतालाई पहिलो शर्त लालपुर्जा र परिचयपत्र उपलब्ध गराए मात्र भाग लिने बताए । पुर्जा पाउने लोभमा जहिले पनि आफूहरूले नेताहरूलाई जिताएर पठाए पनि समस्या समाधान हुन नसकेको गोपाल विक बताउँछन् । ‘हाम्रा समस्या ज्युका त्यु छन्,’ उनले भने, ‘समस्या समाधान नहुँदा अहिले दिक्क लागेर आउँछ ।’

प्रतिक्रिया