सर्वोच्च अदालतमा दुई घण्टा काम अबरुद्ध

Suprim Cort Of Nepalकाठमाडौं, २६ जेठ । सर्वोच्च अदालतका कर्मचारीहरुले आज (आइतबार) अदालतको काम कारबाही दुई घण्टा अवरुद्ध बनाएका छन् ।
कर्मचारीले काम अवरुद्ध गरे पछि सेवाग्राही मर्कामा परेका छन् । विभिन्न राजनीतिक दल आवद्ध कर्मचारी संगठनहरुले अदालतकै काममा अवरोध पुर्‍याए पछि समस्या उत्पन्न भएको हो ।
जिल्ला अदलतका न्यायाधीश नियुक्ति सम्बन्धि अध्यादेशको विरोधमा कर्मचारी संगठनहरुले सर्वोच्च अदालतको काम कारबाही दुई घण्ट अबरुद्ध बनाएका हुन् ।
नियम बन्दा समेत एक बर्षसम्म जिल्ला न्यायाधीश नियुक्ति नगरेको कर्मचारीहरुको आरोप छ । कर्मचारीहरु बाहिरबाट न्यायाधीश नियुक्त गर्न नहुने अडानमा छन् ।
विगतमा न्याय सेवाका अधिकृत कर्मचारीबाट मात्र जिल्ला न्यायाधीश नियुक्ति गर्ने व्यवस्थालाई हटाएर अध्यादेश मार्फत ५२ प्रतिशत कर्मचारी र ४८ प्रतिशत कानून व्यवसायीबाट जिल्ला न्यायाधीश नियुक्ति गर्ने प्रावधान राख्न लागिएकोमा कर्मचारीले विरोध जनाएका हुन् ।
सर्वोच्चमा काम अबरुद्ध बनाउनेमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र राष्ट्रसेवक कर्मचारी संगठन रहेका छन् ।

प्रतिक्रिया