भारतलाई फेरि अध्यागमन र प्रहरी प्रतिष्ठन

mao fकाठमाडौं, २६ जेठ । नेकपा माओवादीले नेपाल भारत गृहसचिव स्तरीय वार्ताका क्रममा भएको २८ बुँदे सहमतिको २० र २१ नम्वर बुँदेको विरोध गरेको छ ।
नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले आज (आइतबार) विज्ञप्ति जारी गरेर सो बुँदेमा रहेका प्रावधानको विरोध गर्दै खारेज गर्न माग गरेका हुन् ।
‘जेठ १८ गते नेपाल र भारतका गृह सचिवहरुका बीचमा भएको २८ बुँदे सहमतिको बारेमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सहमति पत्रको मुख्यत: २० नम्वर बुँदामा नेपालको आधुनिक प्रहरी प्रतिष्ठान काभ्रेको पनौतीमा निर्माण गरी सञ्चालन गर्न भारतलाई दिने विषय उल्लेख रहेको नेकपा माओवादीको आरोप छ । बुँदे नम्वर २१ मा अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागलाई पनि आधुनिकीकरण गर्ने भन्ने नाममा भारतलाई दिने विषयमा सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
नेकपा माओवादीले राष्ट्रिय सुरक्षा संवेदनशीलताको दृष्टिले दुबै बुँदे अत्यन्तै गम्भीर र आपत्तिजनक रहेको जनाएको छ । विगतका दुई पक्षीय निर्णयहरुलाई निरन्तरतामा कार्यान्वयन गर्नका लागि सहमति गरिएको नेकपा माओवादीको आरोप छ ।
‘यसप्रकारका निर्णयहरु राष्ट्रिय स्वाधीनताका दृष्टिकोणले अत्यन्तै घातक रहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘अत: ती गोप्य निर्णयहरु जहिलेसुकै सहमति गरिएको भनिए तापनि त्यसप्रकारका राष्ट्रिय हित विपरीतका निर्णयहरुलाई अविलम्ब खारेज गर्न र निर्णयहरुको कुनै पनि बहानामा कार्यान्वयन नगर्न सम्बद्ध पक्षहरुसँग माग गर्दछौं ।’
राष्ट्रिय सुरक्षा संवेदनशीलतासँग जोडिएका राज्यका निकायहरुको निर्माण, सुधार, आधुनिकीकरण र सञ्चालनलगायतका सबै कार्यहरु नेपाल सरकार स्वयंले गर्नुपर्ने नेकपा माओवादीले जनाएको छ ।
‘त्यसप्रकारका सुरक्षा संवेदनशील निकायहरु कुनैपनि बहानामा कुनैपनि बाह्य मुलुकलाई दिइनुहुँदैन’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया