जडीबुटीको अवैध कारोबारमा वृद्धि

काठमाडौं : बहुमूल्य जडीबुटीको अवैध कारोबारमा वृद्धि भएको छ । जडीबुटीको अथाह भण्डार रहे पनि अमला, कुरिलो, जटामसी पाँचआँैले, चिराइतो, रुद्राक्ष, लेमनग्रास, रिठ्ठो, गुजरगानो, सुगन्ध कोकिल, सर्पगन्धा, सतुवा, सुनाखरीलगायत १ सय ६० प्रजातिका जडीबुटी गैरकानुनी प्रक्रियाबाट बिक्री–वितरण भइरहेको वनस्पति विज्ञहरूको बताएका छन् । १३ वर्षदेखि लगातार नेपालका जडीबुटी विश्वका बहुराष्ट्रिय कम्पनीहरूले नेपालीलाई नै प्रयोग गरी लुटिरहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक चन्द्रबहादुर शाहीले बताए ।
उनले भने, ‘कोही व्यापारीको बहानामा क्यालकुलेटर मेसिन बिक्री गरेको देखाउन नेपाल आउने र कोही जोगीको भेष धारण गरेर । अन्तत: उनीहरूले जडीबुटी तस्कर गरिरहेको बुझियो ।’
नेपाली राजनीतिक अस्थिरताको मूल जडकै कारण जडीबुटी तस्करले भरपुर फाइदा उठाउन पाइरहेको शाहीको बुझाइ छ । जल, जंगल, जमिन र जडीबुटीको कुरा गरेरै नथाक्ने नीति निर्माता र योजनाकार मात्र होइन, राजनीतिक दलका शीर्ष नेताहरूको अकर्मण्यताका कारण नेपालको बहुमूल्य जडीबुटी कौडीको मूल्यमा विदेशी तस्करले सोझा नेपालीलाई प्रयोग गरी धमाधम लुटिरहेको जडीबुटी व्यवसायी सुवास सुब्बा बताउँछन् । राजनीतिक अस्थिरताका कारण सरकारले विकट तथा हिमाली भेगमा सुरक्षा निकायलाई परिचालन गर्न नसक्दा पनि यो अवस्था आइपरेको उनको बुझाइ छ । सस्तो मूल्यमा खरिद गरिएका ती जडीबुटीलाई बहुर्राष्ट्रिय औषधि कम्पनीले रसायन प्रयोग गरी विभिन्न औषधिको नाम दिएर पुन: नेपालमै बिक्री–वितरण गरिरहेको महाप्रबन्धक शाहीले बताए ।
नेपालमा धेरैजसो बहुमूल्य जडीबुटी समुद्र सतहबाट तीन हजार फिटभन्दा माथि उचाइमा पाइन्छ । त्यसले जडीबुटी तस्करका लागि सजिलो र सहज बन्ने गरेको जडीबुटी व्यवसायी सुब्बाको भनाइ छ ।
नेपालको जडीबुटी बढी मात्र चोरी–निकासी हुने देशमा चीन, भारत, अमेरिका, युरोपका अधिकांश मुलुकलगायत ४० भन्दा बढी देश पर्छन् । जंगलबाट अन्य देशका मानिसले लुकिछिपी धेरै फाइदा बटुलिरहेको भए पनि नेपाल सरकारले त्यसतर्फ ध्यान दिन नसकेको वनस्पति विभागको भनाइ छ । नेपालमा कानुनी रूपले भन्दा गैरकानुनी रूपले जडीबुटीको तस्करी हुने गरेको वनस्पति विभागका महानिर्देशक डा. अन्नपूर्णनन्द दासले बताए ।

प्रतिक्रिया