‘मधेसी दलबीच एकताको आवश्यकता’

काठमाडौं, २६ जेठ । मधेसी दलहरूले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । आफूहरू एक नहुँदा अन्य पक्षले फाइदा लिइरहेको निष्कर्ष निकालेका छन् ।

शनिबार मधेसी पत्रकार संघले राजधानीमा गरेको ‘आसन्न संविधानसभा निर्वाचन र मधेश धु्रवीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी मधेसी नेताहरूले एउटै मुद्दा, लक्ष्य र सोच बोकेका पार्टीहरू मिल्नुको विकल्प नभएको बताएका हुन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले एउटै मुद्दामा केन्द्रीय मधेसी दलहरू एक हुनुको विकल्प नभएको बताए । ‘अहिले हामी अलग भएका छौँ, त्यसको फाइदा शासक वर्गले उठाइरहेका छन्’, ठाकुरले भने, ‘हामी एक ठाउँमा आयौँ भने हाम्रो शक्ति बढ्छ र हामी कोहीभन्दा कम हुने छैनौँ ।’
कसैलाई चिढाउन वा कसैलाई नकारात्मक देखाउन एकताको कुरा नगरिएको भन्दै उनले सबै मधेसी दल मिल्नु आजको आवश्यकता रहेको बताए । ठाकुर केही दिनदेखि मधेसी दलहरूको एकता गर्नका लागि प्रयास गरिरहेका छन् ।
कार्यक्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी दलहरूबीचको मोर्चाबन्दी आवश्यक रहेको बताए । उनले मोर्चाबन्दीको स्पष्ट खाकासहित मधेसी दलबीच सहकार्य हुनुपर्ने बताए ।
‘कसैको स्वार्थका लागि मोर्चाबन्दी हुनु हुँदैन,’ उनले भने–‘मधेसी दलहरूको हकहितका लागि हुने मोर्चाबन्दीमा आफ्नो पार्टी तयार रहेको छ ।’ मधेसीको हकमा संविधान निर्माणको लडाइँ एक्लै नसकिने भन्दै उनले मोर्चाबन्दीको आवश्यकता रहेको उल्लेख गरे ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेसी दलहरूबीच सार्थक एकीकरणको आवश्यकता रहेको बताए । उनले आगामी चुनावको लागि पनि एकीकरण हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया