दाइजोका कारण महोत्तरीका महिला प्रताडित

महोत्तरी : महिला हिंसाका कारण सधैँ चर्चामा रहने गरेको महोत्तरी जिल्लामा दाइजोका कारण एक महिलालाई चरम यातना दिइएको छ । जिल्लाको सिंग्याही गाविस–६ बस्ने १८ वर्षीया यशोदादेवी यादवलाई पति विजय यादव र उनका दाजु अजय यादवले चार/पाँच दिनदेखि यातना दिँदै आएका छन् ।
उनीहरूले यशोदालाई बाँधेर फलामको छड, लठ्ठी र मुक्काले जीउभरि नीलडाम र टाउको फुट्ने गरी कुटपिट गरेका छन् । पति तथा पतिका दाजुको कुटाइबाट यशोदाको अवस्था गम्भीर भएपछि शुक्रबार साँझ गाउँलेले दिएको जानकारीको आधारमा प्रहरी चौकी सीतापुर भङ्गहाबाट प्रहरी सहायक निरीक्षक दीपेन्द्र यादवको नेतृत्वको प्रहरी टोलीले उनलाई घरबाट उद्धार गरी ल्याएको हो ।
त्यसैगरी पत्नीलाई मरणासन्न हुनेगरी कुटेका पति विजय र उनका दाजु अजयलाई समेत समातेर सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भारतको सीतामढी जिल्लाको सोनबरसा थानाअन्तर्गत लालबन्दी दरबार घर भएका रामविनोद यादवकी छोरी ती महिलालाई एक वर्षदेखि पति र जेठाजुले यातना दिँदै आएका थिए ।
पीडित महिलाका अनुसार आफ्नो पतिको अर्को केटीसँग प्रेम प्रसंग रहेको र उनी तिनै केटीसँग बिहे गर्न चाहन्छ । आफ्नो मामाको नाममा रहेको सर्लाही जिल्लाको नोकेल्बास्थित आठ/दस बिघा जग्गामध्ये दुई बिघा जग्गा दिलाइदिन दबाब दिँदै आएको पीडित महिलाको भनाइ छ ।
प्रहरीले पीडित महिलालाई शुक्रबार नै सर्लाही जिल्लाको सलेमपुर गाविस निवासी मामा अशोक यादवलाई बोलाई जिम्मा लगाएको छ ।

प्रतिक्रिया