विद्युत् नभएपछि जनजीवन कठिन

धनकुटा, २६ जेठ । वर्षासँगै परेको चट्याङले विद्युत् ट्रान्स्फर्मरमा क्षति पुगेपछि धनकुटाको विभिन्न गाविसमा विद्युत् सेवा अवरुद्ध भएको छ । २१ जेठमा चट्याङले ट्रान्स्फर्मरमा क्षति पुर्‍याएपछि जिल्लाको डाँडाबजार, खुवाफोक, महाभारत, आहालेलगायतका गाविसमा विद्युत्सेवा अवरुद्ध भएको हो । विद्युत्सेवा अवरुद्ध हुँदा स्थानीयवासीमा यसको अत्यधिक प्रभाव परेको छ । विद्युत्कै कारण सञ्चार सेवामा अवरुद्ध भएको छ ।

जनजीवन कस्टकर बन्दै गएपछि स्थानीयवासी निराश हुन थालेका छन् । बिजुली बत्ती नहुँदा विद्युत् सेवाका साथै सञ्चार सेवा प्रभावित भएको खुवाफोक गाविसका निवर्तमान अध्यक्ष नरेन्द्रकुमार याखाले बताए । उनले अहिले आफूहरू सञ्चारविहीन भएको गुनासो गरे । त्यस्तै, बिजुली बत्ती नहँुदा डाँडाबजार गाविसमा खानेपानीको समस्या भएको छ । लिफ्टिङ सिस्टमबाट पानीको आपूर्ति हँुदै आएकोमा बिजुली बत्ती नभएपछि पानी पम्पिङ गर्न नसक्दा डाँडाबजारमा खानेपानीको समस्या सिर्जना भएको हो । खानेपानीका लागि घन्टौँ टाढा जानुपर्ने समस्या भएको स्थानीय विद्यार्थी बुद्धिहाङ खेवाले बताए । विद्युत् सेवा अवरुद्ध भएपछि मर्मतका लागि नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखामा मर्मतका लागि जानकारी गराउँदा समेत चासो नदिएको डाँडाबजार गाविसका निवर्तमान अध्यक्ष कुमारजंग याख्याले बताए । विद्युत् सेवा ठप्प भएपछि स्थानीयहरू आक्रोशित भएका छन् भने डाँडाबजारवासीले शनिबार भेलासमेत गरेका छन् ।

प्रतिक्रिया