बिर्तामोडमा व्यापारीकै बन्द

झापा, २६ जेठ । सधै बन्द र हडतालको विरोध गर्दै आएका व्यापारीले शनिबार आफैंले ६ घन्टा बिर्तामोड बन्द गराएका छन् । प्रतिबन्धित भारतीय पाँच सय र एक हजारको नोट बोकेको आरोपमा बिर्तामोडका व्यापारी राजेश मित्तललाई प्रहरीले कारबाही गरेको विरोधमा व्यापारीले मेची अञ्चलको मुख्य व्यापारिक केन्द्र बिर्तामोड बन्द गराएका हुन् ।

प्रहरीले व्यापारी मित्तललाई काँकडभिट्टा नाकामा रहेको सटही काउन्टरबाट पैसा साटेर फर्किंदै गर्दा बुधबार पक्राउ गरेको थियो । उनलाई प्रतिबन्धित पाँच सय र एक हजार दरको चार लाख २१ हजार भारतीय रुपियाँसहित पक्राउ गरी कारबाहीका लागि काठमाडौं पठाएको थियो । तर, मनी चेन्जरका सञ्चालकलाई उन्मुक्ति दिँदै व्यवसायीलाई मात्र कारबाही गरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् । मित्तलले राजस्व अनुसन्धान विभागमा पक्राउ परे बराबरको रकम धरौटी राखी रिहा भएका छन् ।
नेपालमा एक हजार र पाँच सयको भारतीय रुपियाँको कारोबार गर्न प्रतिबन्ध छ । यसअघि पनि त्यस्ता रुपियाँको कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही गर्दै आएको छ । व्यापारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले कुटपिट गरेको विरोधमा सांकेतिक बन्द गरिएको झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले बताए । उनले भने, ‘त्यो दरको भारु नोट प्रतिबन्धित हो, हामीलाई पनि थाहा छ तर पक्राउ गर्ने समयमा उहाँ जस्तो स्थापित व्यवसायीमाथि हातपात गरेकोले बन्द गरेका हौँ ।’ ‘प्रहरीकै मिलेमतोमा उसकै अगाडि भएको भारुको कारोबार रोक्नुपर्याे नि ?’ अध्यक्ष कार्कीले आरोप लगाउँदै भने, प्रहरीको संरक्षणमा भारुको अवैधानिक कारोबार भइरहेको छ ।
झापाका अधिकांश व्यवसायीको कारोबार नजिकै रहेको भारतको सिलिगुडीमा हुने गर्दछ । भारतमा नेपाली नोट नचल्ने हुनाले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई भारु साट्नुपर्ने वाध्यता रहेको छ । राष्ट्रबैंकले मागेजति भारु उपलब्ध गराउन नसकेका कारण झापामा भारुको कालोबजारी हुने गरेको सटही व्यवसायी बताउँछन् । राष्ट्रबैंकले भारुको खरिद दर एक सयको एक सय ६० रुपियाँ १५ पैसा तोके पनि भारुको कारोबार गर्नेले १ सय ६८ रुपियाँसम्ममा खरिद गर्नुपर्ने वाध्यता रहेको सम्बन्धित व्यवसायीले बताएका छन् । राष्ट्रबैंकबाट अधिकार प्राप्त सटही काउन्टरले पनि तोकेको भन्दा उच्च दरमा भारु बिक्री गर्दे आए पनि कारबाही हुन सकेको छैन ।
व्यवसायीले घटनामा संलग्न प्रहरीलाई कारबाही गर्नुपर्ने, भारतीय रुपियाँको बहानामा व्यवसायीलाई पक्राउ गर्न नहुने, भारु कारोबारमा यसअघि पक्राउ परेकाको मुद्दा फिर्ता गर्नुपर्ने र भारु सहज रूपमा उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन् । व्यवसायीले आफ्ना माग पूरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया