एमाओवादीमा पद एउटा/आकांक्षी धेरै

maobadi

काठमाडौं, २५ जेठ । आइतबारदेखि शुरु हुने एमाओवादी केन्द्रीय समितिको बैठकका एजेण्डामा छलफल गर्न बसेको पदाधिकारी बैठकमा नेताहरुकाबीच विवाद भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा आज (शनिबार) बसेको पदाधिकारी बैठकमा रिक्त पदमा पदपूर्ति गर्ने विषयमा परामर्श भएपनि आकांक्षी धेरै देखाएपछि कुनै सहमति हुन नसकेको एकसदस्यले जानकारी दिए ।
उनले भने, ‘केन्द्रीय समितिको बैठक शुरु हुनुपूर्व नै पद विभाजनमा सहमति होस् भन्ने चाहना भएपनि धेरैले पदका लागि चाहना राखेपछि कुनै सहमति हुन सकेन ।’
एमाओवादीमा सचिव र कोषाध्यक्षको पद खाली छ । पार्टी विभाजन अघि तीन जना उपाध्यक्ष रहेकोमा अहिले दुई जना मात्र उपाध्यक्ष छन् ।
अध्यक्ष दाहाल महासचिव पोष्टबहादुर बोगटीलाई उपाध्यक्ष बनाउने मनसायमा छन् । बोगटीलाई उपाध्यक्ष बनाए महासचिव कस्लाई बनाउने भन्नेमा उपाध्यक्ष बाबुराम भट्टराई र दाहालबीच कुरा मिल्न नसकेको स्रोतको भनाई छ ।
सचिव र कोषाध्यक्षमा पनि धेरै जनाले आकांक्षा देखाएका छन् । महाधिवेशन सकिएको लामो समयसम्मपनि एमाओवादीले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन ।
स्थायी समिति र पोलिट्व्यूरोमा क–कसलाई ल्याउने भन्नेमा पनि एमाओवादीभित्र विवाद कायमै छ ।

प्रतिक्रिया