‘आमाको सपना’मा सपनामय काठमान्डु

Dhankute-Kanchhaहरेक समयका परिवर्तनमा उज्यालोको राँको बोकेर साहित्यले शासकका अँध्यारा पर्खालहरू भत्काइदिएको छ । समयको यो परिवर्तनमा अक्षरले भत्काउने र बनाउने नयाँ शब्दको परिवर्तन त्यति सजिलो थिएन । तर, हामीले सजिलो ठान्यौँ र इतिहास बनाइदियौँ समयलाई अर्थात् खेर जान दियौँ परिवर्तनका उत्सर्गलाई । समयको प्रश्न समयको उत्तर बन्न सकेन । समय आफैँमा एउटा घाउ हो र समय आफैँमा मलमपट्टी भन्ने यो हुनै सकेन । अर्थात् साहित्यले देखाएको उत्सर्गको समर्पण नयाँ शब्दमा परिवर्तन गर्नमा हामी सीमित देखियौँ र राजधानी अर्थात् केन्द्र झन् केन्द्रको रूपमा र शासक झन् भिन्नभिन्न रूपमा देखिन थालिए । समग्रमा, अक्षर, शब्द र साहित्यको तागतलाई विचरो देखाउन र बनाउन नाम मात्रको परिवर्तन लागिरह्यो । जसले नाम लेख्यो, व्यवहार लेखेन । जसले नाम लेखायो, व्यवहार देखाएन । खासमा हामी भूपीको देशमा हल्ला गर्दैरह्यौँ । गोपालप्रसाद रिमालको आमाको सपनामा सपनामय भयौँ । कृष्णभूषण बलको ‘काठमाडौं एक्लैले काठमाडौं थाम्दैन’ पढ्यौँ, फेरि पढ्यौँ तर व्यवहारमा पढेनौँ । कृष्णलालको कथा कृष्णसेनमा पुर्‍यायाँै ।

लोकतन्त्रमा साहित्यले देखेको सपना देशको सपना थियो । देशका जनताले देखेको सपना थियो । अर्थात् साँचो जीवन थियो । त्यसैले ज्यानको पर्वाह नराखी सहिदको लाममा उभिन तयार थिए, देशभरका साहित्यकार । साहित्यले देखेको सत्ता सत्य जीवनको सत्ता थियो र साहित्यले देखेको शासन साँचो जनजीवनको शासन थियो । अहिले हामी लोकतन्त्र मनाइरहेका छौँ र आफूखुसी लोकतन्त्रको व्याख्या गरिरहेका छौँ अर्थात् हामी ‘आफू’ भएका छौँ र लोकतन्त्र बिर्सिँदै गएका छौँ अर्थात् आफू केन्द्र, झन् केन्द्र र अरू मोफसल बनाउन लागेका छौँ ।
लोकतन्त्र प्राप्तिपछिको सबैभन्दा ठूलो उपलब्धि सञ्चार हो भन्छन् बुद्धिजीवीहरू । सञ्चारमा सायद साहित्य पनि पर्छ । सञ्चारले केन्द्र भत्काएको छ भन्छन् अझ जान्नेबुझ्नेहरू । गाउँगाउँमा एफएम खुल्दैमा, टोलटोलमा पत्रपत्रिका निस्किँदैमा, नेट, इन्टरनेटको सञ्जाल बढ्दैमा केन्द्र भत्कियो भन्नु र संसारको सबैभन्दा उत्कृष्ट संविधान भनाउने हामी संविधानसभाको सफल निर्वाचनपछि यतिका समय संविधान लेख्न खोजिरहेका छौँ भन्नुजस्तै हो लाग्छ मलाई । सञ्चार नीति स्पष्ट नबनेका मुलुकमा हामी गाउँगाउँमा एफएम खोल्दै र एफएमले केन्द्र भत्कायो भन्छौँ । विचरा एफएमहरू र एफएमकर्मीहरू भोकभोकै गीत गाइरहेका देख्दैनौँ । टोलटोलमा पत्रपत्रिका छाप्छौँ र केन्द्रका खबरले अखबारको पेट भर्छौं हामी केन्द्र भत्कियो भन्छौँ । विचरा अखबार र तिनका निर्दोष ज्यानलाई बचाउको सुरक्षा दिन सक्दैनौँ हामी । सहर–सहरमा टेलिभिजन, नेट, इनटरनेट देखाएर प्रविधिले केन्द्र भत्कायो भन्छौँ । विचरो हुलाकी देशको खबर कहिल्यै सुन्दैनौँ । कहाँबाट केन्द्र भत्किनु ? हामी केन्द्रको मुख ताक्ने भएका छौँ । अझ खासमा केन्द्रबिना चल्नै नसक्ने हामी केन्द्रको दास भएका छौँ ।
लोकतन्त्रमा साहित्य मोफसलमुखी हुनै सकेको छैन । जे–जति मोफसलले आफ्नो बलबुताले गरेको छ, त्यो उसकै ल्याकत र ताकतमा गरेको छ । हुन त साहित्य आफैँ मोफसल हो । राजनीतिले सधैँ साहित्यलाई मोफसल ठानेको छ । जे–जति पर्दामा, चर्चामा, साहित्यका पहुँच र तहमा पुगेका छन्, मोफसलकै रूपमा पुगेका छन् । लोकतन्त्रमा भाषा, साहित्य, कला, संस्कृतिको लोकसम्मान हुनुपर्ने । हाम्रो लोकतन्त्रको राष्ट्रिय गीत लेख्ने व्याकुल माइँला, आफ्नो इज्जत बचाउन विचरो बनेको छ अर्थात् बनाइएको छ । विदेशतिर लोकतान्त्रिक मुलुकमा राष्ट्रिय गीतका रचनाकारलाई लोकतान्त्रिक सरकारले इज्जतका लागि भत्ता खुवाउँछ । भाषा, साहित्य, संस्कृतिको राष्ट्रिय उपस्थिति लोकोपकार, लोकभावना, लोकमर्यादा, लोकसम्मतिसहित गाउँगाउँ पुग्नुपर्ने हो । पहिले नभएको एउटा कुरा भयो– पज्ञाप्रतिष्ठानलाई साहित्य, कला, संस्कृतिको सम्मान गर्दै अलग–अलग पहिचान र अस्तित्वसहित पज्ञाप्रतिष्ठानको स्थापना भयो । प्राज्ञ बन्न दरखास्त हाल्ने र निकटका लागि प्राज्ञ बनाउने खेलले सम्मानित संस्थालाई विवादमा तनाउने काम भयो । प्राज्ञ एउटा पद जस्तो बनाइयो । राष्ट्रको पहिचान बोकेका अम्बर गुरुङ, बैरागी काइँला, किरण मानन्धरहरूलाई आफू अनुकूल व्याख्या गरेर जीवनभरको समर्पणलाई पिंजडाको सीमित स्वतन्त्रता र अधिकार दिएर विचरो बनाउने कोसिस गरियो र गरिँदै छ ।
लोकतन्त्रमा गाउँगाउँ, जिल्लाजिल्ला साहित्यिक महोत्सव, पुस्तक मेला प्रदर्शनी, गोष्ठी, चर्चापरिचर्चा, क्रियाअन्तरक्रिया, प्रकाशन महत्त्वपूर्ण र ऐतिहासिक रूपमा भएका छन्, हुन थालेका छन् । ती सब मोफसलकै होस्टेहैँसेमा अर्थात् साथ, सहयोग र भारी खेपाइ र मार्का खपाइमा फत्ते भएका छन् । केन्द्र केलाई भन्ने ? काठमाडौं वा राजनीति के केन्द्र हो ? काठमाडौं गएका सबै सर्जक गाउँबाटै गएका हुन् । उनीहरूको सिर्जना र उपस्थिति मोफसलकै हो र उनीहरू स्वयं विचरा छन् । हो ! एउटा सत्य कुरा, काठमाडौंमा बसेका अलि चर्चामा छन् । उनीहरूले ठाउँ पाएका छन् । अखबार, रेडियो, टेलिभिजन, नेट, इन्टरनेट, पहुँच, सुविधा अलि धेरै छ । त्यो स्वाभाविक हो । तर, गाउँठाउँमा रहेरै साधनारत श्रष्टाहरू गुनासोरहित जीवन बाँचेका छन् । किनभने लोकतन्त्रको अभ्यासमा छन् । व्यवहारमा परिवर्तन आउन समय लाग्छ । नामको परिवर्तनले उस्तो हुनेवाला केही छैन । जति रोए पनि, जति चिच्याए पनि सुविधा जहाँ छ, त्यहीँकाले सुविधा उपभोग गर्ने हो । लोकतन्त्रले लोकसिद्ध बन्न लोकसत्ताको अभ्यास अझै गर्नै छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, नपुगेका कतिपय ठाउँका मुलुकका हामी नेपाली लोकवादमा विश्वास गर्छौं किनभने हामीले बाँचेको हाम्रो जीवन हाम्रो साहित्यको मूल जीवन हो । काठमाडौं केन्द्र होइन, नेपाल र नेपाली केन्द्र हुन् । मोफसल त भाषा, साहित्य, कला, संस्कृतिलाई बनाइयो, सर्जक, श्रष्टालाई बनाइयो । लोकतन्त्रमा अबका दिन त्यस्ता नबनून् ।

प्रतिक्रिया