पूर्वै उज्यालो भयो

Pravin-Baniyaहिजोअस्तिसम्म काठमाडौंलाई भाषा, साहित्य र प्रकाशनको ‘केन्द्र’ मानिन्थ्यो । आज दृश्य फेरिने क्रममा छन् । भाषा, साहित्यको केन्द्रियतालाई क्रमभंग गर्न बाहिरबाट गतिला र अर्थपूर्ण प्रयास हुन थालेका छन् । अझ जोडले भन्दा मोफसलबाट केन्द्र भत्काउने हस्तक्षेपकारी काम सबैतिरबाट हुन थालेका छन् । मोफसलका नाममा सधैँ उपेक्षामा पर्दै आइरहेको ‘मोफसल’ आज भूमिका र अस्तित्वका हिसाबले बहसको अग्रभागमा देखा पर्दै छ । आज मोफसलले भाषा, साहित्यको केन्द्रमा आफ्नो स्पेस खोज्दै छ । अरू उचाइ ग्रहण गर्दै छ । यी दृश्य देख्दा सजिलै भन्न सकिन्छ– ‘अब मोफसल समृद्ध बन्दै छ ।’

दुई महिना अघि झापाको काँकरभिट्टामा भव्य कला–साहित्य उत्सव सम्पन्न भयो । त्यसैको निरन्तरता झल्किनेगरी पाँचथर सदरमुकाम फिदिममा तीन हप्ताअघि दुईदिने पूर्वाञ्चलस्तरीय बृहत् साहित्य मेला सम्पन्न भयो । त्यसको केही दिनमै खोटाङले पनि उस्तै कार्यक्रम गर्‍यो । यसरी छोटै समयको अन्तरालमा श्रृंखलावद्ध रूपमा कला–साहित्य उत्सवहरू च्लिरहे । ती उत्सवले साँचो अर्थमा भाषा, कला–साहित्यको उत्थानमा के, कति योगदान गर्न सके, त्यसको हिसाबकिताबको पाटो एउटा पक्ष हो । तर, जे भए ती राम्रा कामहरू भए । पूर्वाञ्चलको कला–साहित्यलाई अरू उज्यालो थप्नका लागि गरिएका प्रयासहरू थिए ती ।
पाँचथरमै रहेका र पाँचथरबाहिर रहेका पाँचथरे कवि, लेखकका समग्र प्रयासबाट उत्सव सम्भव भयो । प्राय: यस्ता उत्सवहरूमा सक्दासम्म काठमाडौंका व्यावसायिक लेखकहरूलाई खडा गर्ने प्रयास गरिन्छ । र, उनीहरूलाई नै उत्सवका नायक बनाइन्छ । यसो गर्दा मोफसल प्रयासकै माझबाट फेरि पनि ओझेलमै पर्न जान्छ । तर, पाँचथरले त्यसो गरेन । यहाँ पूर्वाञ्चलका अधिकांश कवि, लेखक उपस्थित भए । काठमाडौंका लेखकहरूलाई जोखेरै उपस्थित गराइयो । त्यहाँ स्थानिकतालाई जोड दिइयो । र, त्यहीका पात्रहरूलाई केन्द्रमा राखियो । स्थानिकताको जगमा टेकेर गरिएको भाषा, साहित्यको सघन अन्तक्र्रियाले एकपल्ट पूर्व गर्मियो ।
कला–साहित्यका प्राय: उत्सवहरूमा भाषणबाजी हावी हुने गर्छन् । तर, त्यो ढर्राले फिदिमको कार्यक्रमलाई छोएन । लिम्बूवानको पट्यारलाग्दो बन्द छिचोलेर फिदिम पुगेका कवि, लेखकहरूले फरक पुस्ताबीच रहिआएको दूरीलाई कम गर्न मदत गरे । उत्सवले नयाँ पठन संस्कृतिको थलानी गरायो । सम्मान र संस्कृतिको सुरुआत गर्‍यो । आयोजक संस्थाले ‘सन्त ज्ञानदिलदास’को नाममा पुरस्कारसमेत घोषणा गरेर अर्काे एउटा सम्झनलायक काम गर्‍यो । खासगरी विषयगत र विधागत अन्तक्र्रियामा आधारित उत्सवले उत्सवभरि कवि, लेखकहरूलाई बहसमा उतार्‍यो । पूर्वाञ्चलको भाषा, साहित्यको अवस्थालाई सघन विमर्शले गर्मायो ।
फिदिमको कार्यक्रममा पनि अन्तजस्तै गतिविधिहरू भए । भाषा र साहित्यका विषयमा नयाँ बहसहरू चले । नयाँ र पुरानो पुस्ताबीचमा रहेका अन्तरलाई मेट्नका लागि विभिन्न विषयमा माथापच्ची गरियो । भाषाका विज्ञहरूले नेपाली भाषाका समस्या र भ्रमहरूबारे विमर्श गरे । केहीले विशेष भाषा–नीति अघि सारे । केहीले अपेक्षित रूपमा मातृभाषाहरूको विकास हुन नसकेको तर्क राखे । मातृभाषा र लिम्बू भाषाका विषयमा प्राध्यापक टंकप्रसाद न्यौपाने र बौद्धिक विमर्शमा अर्थपूर्ण हस्तक्षेप गरिरहेका युवा लेखक पुष्प थाम्सुहाङले नेपाली साहित्यमा लिम्बू भाषाको प्रभावबारे चर्काे बहस गरेका थिए ।
पहिलो दिनको कार्यक्रमले औपचारिकता ग्रहण गर्‍यो । दोस्रो दिनको कार्यक्रमको रूप एकाएक बदलियो । सरल र नरम अन्तक्र्रियात्मक सत्र गर्मिला बहसमा रूपान्तरित भए । छलफलमा कोही कडा प्रस्तुतिमा देखिन्थे, कोही नरम । दर्शकदीर्घामा बसेकाहरू कोही मुसुमुसु हाँसिरहेका देखिन्थे, कोही कुरोको चुरो पत्ता लाउन खोजिरहेका देखिन्थे । दर्शकदीर्घामै बसेका केही युवा कवि हलमै छुट्टै क्लास (कवि गोष्ठी) चलाइरहेका पनि देखिन्थे । दोस्रो दिनको कार्यक्रम राति आठ बजेसम्म चल्यो, जहाँ ६० भन्दा बढी कविले विभिन्न भाषामा कविता पाठ गरे । अर्काे दिन नेपाली भाषामा जनजातीय भाषाहरूको प्रभाव र लेखन विषयमा विमर्श चल्यो ।
पाँचथरमा जेजति काम भए, ती निकै नै अर्थपूर्ण र महत्त्वपूर्ण रहे । महोत्सवको माध्यमबाट एकपटक पूर्वाञ्चलको भाषा, साहित्यलाई बहसमा ल्याएर नयाँ गति दिने काम गरियो । पठन संस्कृतिको विकासका लागि धेरथोर प्रयास गरियो । सबैभन्दा महत्त्वपूर्ण कुरा त मोफसलबाट भाषा, साहित्यको केन्द्रमा फेरि एकपटक गतिलो हस्तक्षेप गरियो । एकपटक काठमाडौंलाई मोफसलतर्फ पर्केर हेर्ने बनाइयो । पूर्वलाई अरू उज्यालो थपियो ।

प्रतिक्रिया