उदयपुर, २५ जेठ । केही वर्षयता खोलाले धार परिवर्तन गर्नथालेपछि त्रियुगा नगरपालिकाका करिब १३ सय घरपरिवार बाढीको उच्च जोखिममा रहेका छन् । गत वर्ष नै बरुवा खोलाले धार परिवर्तन गरी सदरमुकाम गाईघाट बजारतर्फ कटान गर्न थालेको थियो । तर, समयमै तटबन्ध नगरिँदा यस वर्ष मनसुन सुरु नभईकन सर्वसाधारण त्रसित बन्न थालेका छन् । मुख्यतया खोला आसपासमा रहेका बस्ती बाढीको उच्च जोखिममा परेका हुन् । गत वर्षकै गतिमा खोलाले धार परिवर्तन गर्दै गएमा बस्ती निकट भविष्यमै बगरमा परिणत हुने सम्भावना बढेको छ ।
खोलाछेउमा लगाइएको तटबन्ध र केही तारजाली गत वर्षको बाढीले आधाबढी भत्काएको स्थानीयले बताएका छन् । तटबन्ध बाढीले बगाएपछि खोला गाउँ पस्ने भयले स्थानीयवासी झनै त्रसित बनेको त्रियुगा नगरपालिका–२ का केशव ढकालले बताए । ‘खोलाको कटान गाउँतर्फ नै बढ्दै गएको छ, ‘उनले भने, ‘यस्तै अवस्था बढ्दै गयो भने खोला चाँडै गाउँ प्रवेश गर्छ ।’ धेरैजसो घरहरू खोलानजिक छन्, कुनै पनि समयमा जोखिममा पर्न सकिन्छ,’ ढकालले बताए ।
खोला नियन्त्रणका लागि अन्यत्र काम भए पनि त्रियुगा नगरपालिका–२ चप्पन, शिवालयटोल त्रिनपा–४ विसनपुर र पुरानो गाईघाट क्षेत्रमा कुनै काम नभएको स्थानीयले बताए । बाढीको जोखिममा रहेको वस्तीमा बोल्नसक्ने सर्वसाधरण छैनन् । स्थानीय भन्छन्, ‘सम्बन्धित निकायमा पहुँच नहुँदा नियन्त्रणको काम हुन सकेको छैन ।’ सदरमुकामभित्रै रहेको वस्तीसमेत संरक्षण हुन सकेको छैन, अन्यत्र कस्तो अवस्था होला ?
जिल्लाको अधिकांश खोला किनारका बस्ती बाढीको जोखिमा रहेका छन् । तर, बरुवा ठाडो खोला भएकाले कुनै पनि समयमा बस्तीमा प्रवेश गर्नसक्ने अवस्था रहेको स्थानीयले बताए । बरुवा खोलाले वर्षेनी धार परिर्वतन गरिहने भएकाले बढी जोखिम लिनु परेको बताइएको छ । पटकपटक हारगुहार गर्दा पनि सदरमुकामभित्रै रहेको वस्ती जोगाउन सम्बन्धित निकायले कुनै चासो नदिएको स्थानीयवासी गुनासो गर्छन् । नगरपालिकाले हरेक वर्ष नदी नियन्त्रणको काम गरिरहेको कार्यकारी अधिकृत खिलराज राईले बताए ।
प्रतिक्रिया