बिरामीलाई रगत नि:शुल्क दिनुपर्छ : मुख्यसचिव

काठमाडौं, २५ जेठ । मुख्यसचिव लीलामणि पौडेलले बिरामीको उपचारका लागि आवश्यक रगत नि:शुल्क रूपमा उपलब्ध गराउनुपर्ने बताएका छन् ।

विश्व रक्तदाता दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मुख्यसचिव पौडेलले रक्तदाताले नि:शुल्क रगत दिएजस्तै रगत आवश्यक पर्ने व्यक्तिले पनि नि:शुल्क पाउने व्यवस्था मिलाउन आवश्यक भएको बताएका हुन् । ‘रक्तदान गर्नेले नि:शुल्क रगत दिइरहेको जस्तै अब रगत आवश्यक पर्नेलाई पनि नि:शुल्क रगत उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘जीवन मरणको दोसाधमा रहेका बिरामीका लागि अत्यावश्यक रगत सहज रूपमा उपलब्ध गराउन पनि आवश्यक छ ।’ उनले रक्तदान जीवन दान भन्ने पवित्र मन्त्रलाई आफूले पटक–पटक रगत दान गरी अनुसरण गरिरहेको बताए ।
दिवस तथा प्रथम रक्तदाता सम्मेलनका अवसरमा ब्लड डोनर्स एसोसिएसन (ब्लोदान)ले रक्तदान कार्यलाई प्रोत्साहन गर्न जनचेतनामूलक र्‍यालीको आयोजना गरेको थियो । एक जनाले दिएको रगतले अर्काेलाई बचाउन सकिन्छ । रगत दान दिएमा झन स्वच्छ भइन्छ, रगत दान जीवन दान भन्ने विषयमा चेतना जगाउने उद्देश्यले र्‍यालीको आयोजना गरिएको ब्लोदानका अध्यक्ष महेन्द्र विलास जोसीले बताए । रक्तदान जीवनदान भन्ने नारासहित रक्तसञ्चार केन्द्र भृकुटीमण्डपबाट सुरु भएको र्‍याली भद्रकाली, सहिदगेट, नयाँसडक हुँदै वसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया