१२ करोडको सिँचाइ आयोजना व्यर्थै

khet-bajhaiधनगढी, २५ जेठ । करोडौँको लागतमा निर्माण गरिएको कैलालीको मोहना सिँचाइ आयोजनाको नहरमा नियमित पानी नचल्दा खेतबारी बाझै हुने गरेका छन् । सिँचाइ सुविधाका लागि आयोजना निर्माण गरिए पनि पानी नियमित नआउँदा किसान मर्कामा परेका छन् ।

कैलालीको गोदावरी गाविसस्थित मछेलीखोलाबाट बाँध बाँधेर ल्याएको नहरमा तीन दशक बित्दा पनि पानी नआउँदा खेतबारी बाझै हुने गरेका हुन् । कैलालीका गोदावरी र मालाखेती तथा कञ्चनपुरको कृष्णपुर गाविसका तीन हजारभन्दा बढी घरधुरी लाभान्वित हुने गरी आयोजना निर्माण गरिएको थियो । आयोजनाको बाँध खोलाले बगाएपछि सिँचाइ गर्न नपाएर खेतबारी बाझै हुने गरेको किसान बताउँछन् ।
२०३६ सालमा निर्माण थाली २०४२ मा सम्पन्न गरिएको यस सिँचाइ आयोजनाबाट त्यस बेला दुई हजार हेक्टरभन्दा बढी खेतमा सिँचाइ हुने लक्ष्य राखिएको थियो । आयोजना सम्पन्न भएको पाँच वर्ष नबित्दै नहरको बाँध खोलाले बगाएपछि अहिले समस्या हुने गरेको मोहना सिँचाइ प्रणाली जलउपभोक्ता समितिका अध्यक्ष प्रेम बडेलाले बताए ।
पहिलो चरणमा सरकारको ९ करोड र २०५८ मा एसियाली विकास बैंक, नेपाल सरकार तथा स्थानीयको गरी दुई करोड ९३ लाखको लागत निर्माण गरिएको यो आयोजनाको लम्बाइ १३ किलोमिटर छ । करिब १२ करोड खर्च हुँदा पनि नहरमा नियमित रूपमा पानी नचल्दा खेतबारीमा सिँचाइ गर्न नपाएको कृषकको गुनासो छ ।
‘१२ करोड खर्चेर पनि पानी आएन । अझै वर्षेनी ५/६ लाख मर्मतसम्भारका नाममा खर्च गर्ने गरिएको छ । तर, हामीले आयोजना बनेसँगै कहिल्यै समयमै खेतीपाती लगाउन पाएनौँ,’ गोदावरीका नवलकिशोर कडायत भन्छन्, ‘योभन्दा त बाबुबाजेले बनाएका परम्परागत कुलोबाट समयमै खेतीपाती लगाइन्थ्यो ।’
यो वर्ष नहर मर्मतसम्भारको नाममा नौ लाख ३० हजार आएको छ । बाँधबाट पानी आउँदैन । खाली नहर मर्मतसम्भारका नाममा वर्षेनी पैसा छुट्याएर सुदूरपश्चिम सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले आफूहरूमाथि बेइमानी गरिरहेको कृषकको गुनासो छ ।
खेतीपाती गर्न सिँचाइ सुविधा छ भनेर बसाइ सरेर आएका बताउने यहाँका बासिन्दा सरकारले परम्परागत कूलो भत्काएर पक्की नहर बनाएपछि थपभोकमरीको चपेटामा परेको बताउँछन् । यहाँ डोटी, अछाम, बैतडी, डडेल्धुरालगायतका जिल्लाबाट बसाइ सरेर आएका बासिन्दाको बाहुल्यता छ । स्थानीय बृद्धा कृति बिकका अनुसार पक्की नहर नबन्नुभन्दा पहिले मछेलीखोलाबाट परम्परागत रूपमा बनाइएका २२ वटा स–साना कुलोले खेतबारी सिँचाइ हुन्थ्यो ।
‘नहर हाम्रो लागि दशा बन्यो । आजकाल कृषकले खेतीपाती गर्न आकाशे पानी तथा वर्षातको समय पखर्नुपर्ने बाध्यता छ,’ बिकले भनिन्, ‘४२ सालअघि यहाँको जग्गाका लागि तछाडमछाड हुने गर्दथ्र्यो । नहर बने पनि पानी अभावमा खेत बाझै हुन थालेपछि जग्गा कौडीको भावमा पनि बिक्री हुन छोड्यो ।’
सिँचाइ डिभिजन कार्यालयले आयोजनाको सम्पूर्ण जिम्मेवारी आफूहरूलाई हस्तान्तरण गर्न खोजे पनि अस्वीकार गरेका जलउपभोक्ता समितिका सचिव शिव विकले बताए । उनले समुदायस्तरबाट कृष्णपुरको गुलरीया शाखा नहर र बाँधको काम सम्पन्न नभएको भन्दै जिम्मा लिन अस्वीकार गरेको बताए ।
बाँध निर्माणस्थल रहेको मछेलीखोला जोखिमपूर्ण भएकाले कृषकलाई सिँचाइमा समस्या भएको हो । खोलाले क्षती पुर्‍याउन नसकोस् भनेर बाँध निर्माणका लागि गहन अध्ययन भइरहेको सुदूरपश्चिम सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख धु्रव न्यौपानेले बताए । ‘पानीको बहाव बढैसँगै खोलाले ठूलठूला ढुंगा ल्याएर बाँध भत्काउने गर्छ । यसलाई कसरी रोक्न सकिन्छ भनेर विभिन्न क्षेत्रमा छलफल गरी अनुसन्धान भइरहेको छ,’ प्रमुख न्यौपानेले भने, ‘कार्यालयले कृषकको मर्कालाई बुझेर पुन:बाँध निर्माणका लागि सिँचाइ विभाग र अन्य निकायमा लेखेर पठाइएको छ ।’ उनले कृषकलाई केही राहात होस् भनेर वर्षेनी नहर मर्मतका लागि रकम छुट्याउने गरेको जानकारी दिए ।
यस वर्ष उक्त आयोजना वा अन्य विकल्प खोजेर सिँचाइको व्यवस्था गर्न जिल्ला विकास समितिले सामुदायिक सिँचाइ परियोजनामार्फत एसियाली विकास बैंकको आर्थिक सहयोगमा स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग(डोलिडार)मार्फत काम गर्ने जिल्ला इन्जिनियर प्रेमदत्त भट्टले बताए ।

प्रतिक्रिया