पूर्वसभासद् मियाँको हत्या परिवारबाटै

Nurjahan-Khatun-Sourya-Dailराजविराज, २५ जेठ । पत्नी र छोरीकै योजनामा पूर्वसभासद् सदरुल मियाँ हकको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । भाडाका हत्यारा खोजेर उनीहरूले मियाँको हत्या गरेका थिए ।

हत्याको अभियोगमा प्रहरीले पूर्वसभासद् मियाँकी पत्नी र छोरीसहित ३ जनालाई पक्राउ गरेको छ । सगरमाथा अञ्चल प्रहरी कार्यालयले शुक्रबार राजविराजमा पत्रकार सम्मेलन गरी पक्राउ गरिएका तीनै जनालाई सार्वजनिक गरेको छ ।
पूर्वसभासद् मियाँकी ४६ वर्षीया पत्नी नुरजहा खातुन, १९ वर्षीया छोरी रुबेदा खातुन र चतरी–६ सिरहा घर भई हाल लहान–५ बस्ने अब्दुल रउफ हत्यामा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी दिनेश आचार्यले हत्या गरिएका पूर्वसभासद् मियाँ र उनकी पत्नी नुरजहाबीच आर्थिक विषयमा घरायसी विवाद रहेको अनुसन्धानबाट पत्ता लागेको बताए ।
त्यस्तै, रुबेदाका प्रेमी जमिरुल सेख र एनुल सेखको पनि हत्यामा संलग्नता रहेको प्रहरीले जनाएको छ । उनीहरू अहिले फरार छन् । रुबेदाले प्रेमी जमिरुलसित केही समयअघि रौतहटमा आफूखुसी निकाह (विवाह) समेत गरिसकेकी थिइन् । तर, पूर्वसभासद् मियाँले उनीहरूको सम्बन्ध नस्विकारेपछि आमा–छोरीकै योजनामा उनको हत्या गरिएको डिएसपी आचार्यले बताए ।
प्रहरीका अनुसार २०६८ फागुनमा मियाँकी जेठी छोरी बिरामी हुँदा जमिरुलले झारफुक गरेका थिए । त्यही क्रममा माइली छोरी रुबेदासित उनको प्रेम बसेको थियो । पत्नी नुरजहाले रकम हिनामिना गरेको र छोरीले प्रेम सम्बन्ध कायम गरेको कुरालाई लिएर पूर्वसभाद् मियाँ पछिल्लो समय तनावमा थिए ।
पारिवारिक विवाद बढेपछि नुरजहा र रुबेदाले जमिरुलसँग मिलेर ५ महिनाअगाडि नै पूर्वसभासद् मियाँको हत्या गर्ने Rubela-Khatun-Sourya-Dailyयोजना बनाएका थिए । जमिरुल, अब्दुल रउफ र एनुल सेख पटक–पटक मियाँको गाउँ सप्तरीको बिसनपुर आएर १५ दिनअघिदेखि नै उनको गतिविधि नियालिरहेका थिए । हत्याको एक दिनअघि सिरहाको गम्हरियामा नै मियाँको हत्या गर्ने योजना बनाइएको थियो । तर, त्यो प्रयास असफल भएपछि दोस्रो प्रयासमा मात्रै उनीहरू पूर्वसभासद् मियाँको हत्या गर्न सफल भएको डिएसपी आचार्यले बताए ।
हत्या भएको राति पूर्वसभासद् मियाँ छिमेकमा विवाहको कार्यक्रममा गएर राति पेट्रोलपम्पमा सुत्न आएको जानकारी पनि छोरी रुबेदाले नै हत्याराहरूलाई गराएकी थिइन् । उनकै सूचनाका आधारमा हत्याराहरू १५ किमी टाढा लहानबाट आएर पूर्वसभासद् मियाँको हत्या गरेका थिए । फर्किनुअघि उनीहरूले हत्या गरिसकेको जानकारी फोनमार्फत रुबेदालाई गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार पतिको हत्या गर्नका लागि नुरजहाले एनुललाई ८० हजार र जमिरुललाई ४० हजार अग्रिम दिएकी थिइन् । जमिरुल र एनुल फरार रहेकाले हत्याका लागि जम्मा कति रकम दिने कबोल भएको हो भन्ने खुल्न नसकेको डिएसपी आचार्यले बताए ।
बिहीबार राति पक्राउ गरिएका तीनै जनालाई म्याद थप गरी हाल जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । प्रहरीले अब्दुल रउफलाई पक्राउ गरेपछि उनको घरबाट पूर्वसभासद् मियाँले प्रयोग गर्ने गरेको नोकिया मोबाइल, विभिन्न सिमकार्ड र चक्कु (हत्यामा प्रयोग भएको हुनसक्ने प्रहरीको अनुमान) बरामद गरिएको सप्तरीका एसपी सञ्जयसिंह बस्नेतले बताए । गत ६ जेठको राति कल्याणपुर–२ स्थित हुमा पेट्रोलपम्पमा सुतेको अवस्थामा पूर्वसभासद् मियाँको Abdul-Rauf-Sourya-Dailyहत्या गरिएको थियो ।
पत्रकार सम्मेलनमा हत्याको छानबिनका लागि सरकारद्वारा एआइजी दिनकरशमशेर राणाको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन टोलीका सदस्यद्वय पूर्वाञ्जलका डिआइजी पर्शुराम खत्री र राष्ट्रिय अनुसन्धान विभागका पूर्वाञ्चल निर्देशक पुष्कर चापागाईं, एसएसपी भोगबहादुर थापालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया