नक्कली खाग तस्कर धरौटीमा छुटे

रौतहट, २४ जेठ । नक्कली खाग तस्करीका अभियुक्त रौतहटको गम्हरिया बिर्ता–७ का ३५ वर्षीय वीरेन्द्र राय यादव २८ हजार धरौटीमा रिहा भएका छन् । ३० वैशाखमा चन्द्रनिगाहपुरबाट पक्राउ परेका यादव उनको साथबाट बरामद खाग राष्ट्रि्रय विधि विज्ञान प्रयोगशालाले नक्कली भएको पुष्टि गरेपछि धरौटीमा रिहा भएका हुन् ।

केन्द्रीय अपराध अनुसन्धान ब्युरो (सिआइबी)को टोली र चन्द्रनिगाहपुर इलाका प्रहरीको टोलीले यादवलाई चन्द्रनिगाहपुरको एक होटलबाट पक्राउ गरेको थियो । उक्त नक्कली खाग ३० लाख रुपियाँमा बिक्री गर्नका लागि यादव होटल पुगेका थिए । अज्ञात व्यक्तिलाई टेलिफोनकै आधारमा ३० लाखमा खाग बेच्ने तय भएपछि यादव होटेलमा पुगेको पाइएको प्रहरीले जनाएको छ । उनी खाग बेच्नुअघि नै प्रहरीको फन्दामा परेका थिए ।
पक्राउपछि जिल्ला वन कार्यालयले खाग परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएपछि १७ जेठमा नक्कली प्रमाणित भएर आएको हो । ‘खागलाई अनुसन्धान गरी हेर्दा नक्कली फेला परेको हो,’ जिल्ला वन प्रमुख नन्दलाल यादवले भने, ‘सुरुमा हामीलाई खाग सक्कली लागेको थियो तर आधिकारिक निकायले सम्पूर्ण जाँच प्रक्रियापछि नक्कली भएको प्रमाणित गरेर फिर्ता पठाएको छ ।’
खाग नक्कली भएपछि यादव धरौटीमा छुटेका छन् । यादवलाई २८ हजार धरौटी लिई छाडिएको जिल्ला वन अधिकृत नन्दलालले जानकारी दिए ।
यादवले खाग स्थानीय पल्टुवा गाउँको एक घरबाट ल्याएको प्रहरीसमक्ष बयान दिएका थिए । यादव गाउँकै बरगजवास्थित उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष हुन् । रौतहटकै रंगपुर गाविसका मनोज धितालले आफूलाई सो खाग दिएको यादवले बताएका थिए । पक्राउपछि दायर गरिएको मुद्दा सरकारी वकिलको कार्यालयमा आएपछि विधिविज्ञान प्रयोगशालाले खाग नक्कली भनेपछि अन्य कसुरको मुद्दा दायर गरी २८ हजार धरौटीमा रिहा गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया