सडकभरि महिला

kamlariदेउखुरी, २४ जेठ । पूर्वकमलरीले आह्वान गरेको तराई बन्दको तेस्रो दिन बिहीबार दाङका सडकमा महिला नै महिला देखिए । पुरुषहरूको उपस्थिति भए पनि महिलाको तुलनामा अति न्यून थियो । पूर्वकमलरीले थालेको बालिका बचाउ आन्दोलनमा साथ दिनेहरूको संख्या पनि ह्वात्तै बढेको छ । दाङका मुख्य बजारका चोकचोकमा बिहीबार पूर्वकमलरीको संख्या निक्कै बाक्लिएको थियो ।

बन्दले बिहीबार पनि दाङलगायत पश्चिम तराईका पाँच जिल्लाको जनजीवन प्रभावित बन्यो । बजार, शिक्षण संस्था, उद्योगधन्दा बन्दको तेस्रो दिन पनि ठप्प भए । अघिल्ला दुई दिनमा बन्दमा पूर्वकमलरी मात्रै सडकमा देखिएकोमा बिहीबारदेखि भने गृहिणी मात्र होइन, पुरुषहरूसमेत बन्दको समर्थनमा सडकमा उत्रिए । थारू समुदायका मात्र होइन, अन्य समुदायका व्यक्तिले पनि पूर्वकमलरीको आन्दोलनमा साथ दिन थालेका छन् ।
दाङ लालमटियाकी बालिका सिर्जना चौधरीको ललितपुरमा कमलरी बसेकै अवस्थामा रहस्यमय मृत्यु भएपछि पूर्वकमलरीहरू आन्दोलित भएका हुन् । आन्दोलनका लागि गठित संघर्ष समितिले सिर्जनालाई कमलरी राख्ने ललितपुरका युवराज पौडेल र शंकर अधिकारीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई राहत तथा आन्दोलनका क्रममा घाइतेलाई उपचार गराउनुपर्नेलगायत माग राखेको छ । सिर्जनासहित पाँच कमलरीको हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राखी जिल्लामा चरणबद्ध आन्दोलन गर्दै आएका उनीहरूले केही दिनदेखि राजधानीमा समेत दबाब दिँदै आएका छन् । कमलरी हत्यामा संलग्नलाई कारबाही तथा बेपत्ता कमलरीको अवस्था सार्वजनिक गरिनुपर्नेलगायत माग राखेर पूर्वकमलरीले २१ गतेदेखि तराईका २२ जिल्लामा बन्द आह्वान गरेका हुन् ।
यसैबीच, बन्दको तेस्रो दिन पनि पूर्वकमलरीलगायत सामाजिक संघसंस्थामा आबद्ध महिलाले लमहीमा प्रदर्शन गरेका छन् । उनीहरूले कमलरीले न्याय नपाएसम्म आन्दोलन जारी रहने बताए । कोणसभालाई मनामना महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष गोमा बस्नेत, महिला नेत्री मीना गुरुङ, जनकुमारी चौधरी, रीता चौधरी, गीता चौधरी, शारदा चौधरी, प्रभा चौधरीलगायतले सम्बोधन गरेका थिए ।
मोटरसाइकलको ठक्करबाट घाइते
बन्द अवज्ञा गरी चलाएको मोटरसाइकलको ठक्करबाट बिहीबार दाङमा एक पूर्वकमलरी घाइते भएकी छन् । मोटरसाइकलको ठक्करबाट हलवारकी पूर्वकमलरी प्रभा घर्ती घाइते भएकी हुन् । बन्दको समयमा चलाएको मोटरसाइकल रोक्न खोज्दा उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । तुलसीपुर–सल्यान खण्डको ‘टिकरा पातु’ भन्ने स्थानमा सडक अवरुद्ध गर्न बसेकी घर्तीलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।
ट्रयाक्टर पल्टिँदा दुईको मृत्यु
पूर्वकमलरीको बन्दका कारण सवारीसाधन नचलेपछि बिहीबार कामदार बोकेर लमहीबाट घोराही जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते छन् । लु १ त ८१९२ नम्बरको ट्रयाक्टर घोराही–लमही सडकखण्डको लक्ष्मीपुर–१ मसोटमा दुर्घटना हुँदा चैलाही–३ देउपुर निवासी ३३ वर्षीया रामबहादरु चौधरी र अर्घाखाँची जलुके निवासी ४२ वर्षीया ऋषिराम मगरको मृत्यु भएको हो । उनीहरूको घटनास्थलमै ज्यान गएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय अर्जुनखोलाले जनाएको छ ।

प्रतिक्रिया