पहिरोमा पुरिएर ९ को मृत्यु

ताप्लेजुङ, २४ जेठ । भीषण वर्षासँगै बुधबार राति आएको पहिरोले तीन घर बगाउँदा ताप्लेजुङको थुकिमा गाविसमा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुने ६ जना एउटै परिवारका हुन् । पहिरोमा तीन जना अझै बेपत्ता छन् । तीन जना घाइते छन् भने पाँच जनाले भागेर ज्यान बचाएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा थुकिमा गाविस–६ का ६९ वर्षीय अष्टबहादुर सिवा, उनकी श्रीमती ६० वर्षीया जसमाया, ४० वर्षीय छोरा सलमान, ३४ वर्षीया बुहारी मनमाया र नातीहरू १४ वर्षीय नानीराम र १२ वर्षीय खगेन्द्र रहेका छन् ।

त्यस्तै, सोही ठाउँका तेजबहादुर सिवाकी १० वर्षीया छोरी नैना र ६ वर्षीय आशीष शिवाको पनि मृत्यु भएको प्रहरी नायव उपरीक्षक गोविन्दप्रसाद आचार्यले बताए । पहिरोमा परी गम्भीर घाइते भएकी सुकमाया साँवाको पनि उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा मृत्यु भएको छ । प्रहरीका अनुसार उनको बिहीबार दिउँसो पौने पाँच बजे मृत्यु भएको हो ।
पहिरोमा परी २८ वर्षीय तेजबहादुर सिवा, उनकी श्रीमती २९ वर्षीया मुना र चार वर्षीया आशिका बेपत्ता छन् । उनीहरूको खोजी कार्य भइरहेको छ । अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गुमाएकी सुकमायालाई पहिरोले बगाएर घरभन्दा ५० मिटर तल पुर्‍याएको थियो ।
घाइतेमध्ये मञ्जिता साँवाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ ।
पहिरोमा परी घाइते भएकाहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मध्यरातमा आएको पहिरोले अष्टबहादुर सिवा, सलमान सिवा, तेजबहादुर सिवा र सोही गाविसको वडा नम्वर ४ का कुवेरसिंह साँवाको घर बगाएको हो । अहिले स्थानीयवासी र प्रहरी उद्धार कार्यमा खटिएको प्रहरीले जनाएको छ ।
पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थलमा सार्ने कार्य पनि भइरहेको प्रनाउ आचार्यले बताए ।  पहिरो प्रभावितहरूलाई राहत पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । घटनास्थल सदरमुकामदेखि १२ कोष टाढा पर्छ ।
पहिरोको विपद्पछि गाउँ नै शोकाकुल बनेको छ । त्रिभुवन उच्च माविमा अध्ययनरत पाँच विद्यार्थी पहिरोमा परेपछि विद्यालय बन्द गरिएको छ ।

प्रतिक्रिया