भगौडा सुरक्षाकर्मीहरुको संगठन विभाजित

Surya-Bdr-Ghimire-Bhagaudaकाठमाडौं, २३ जेठ । तत्कालीन नेकपा (माओवादी)को सशस्त्र द्वन्द्वका क्रममा जागिर छाडेर भागेका (भगौडा) सुरक्षाकर्मीहरुको संगठन ‘द्वन्द्व पीडित सेना प्रहरी संघर्ष समिति विभाजित भएको छ ।
जागिरमा पुनर्बहालीको मागसहित आन्दोलित समितिका संयोजक सूर्यबहादुर घिमिरे र सह–संयोजक प्रेमबहादुर विष्टले राजनीतिक दल दर्ता गरे पछि विवाद उत्पन्न भएको हो ।
समितिका नयाँ संयोजक टेकबहादुर थापाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर घिमिरे र विष्टलाई कारबाही गरी निष्काशन गरेको जानकारी दिए । ‘सूर्यबहादुर घिमिरे र प्रेमबहादुर विष्टको समितिसँग कुनै सरोकार र सम्बन्ध छैन,’ उनले भने, ‘द्वन्द्व पीडित सुरक्षाकर्मीको आन्दोलन राजनीति गर्न होइन । पुन:स्थापनाका लागि मात्रै हो ।’
घिमिरे र विष्टले हालै ‘नेपाल राष्ट्र सेवा दल’ नामक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए ।
संयोजक थापाले द्वन्द्व पीडित सुरक्षाकर्मीहरुको अवस्था अत्यन्तै दयनीय बन्दै गईरहेको बताए ।
‘आफ्नो स्वार्थ पुरा गर्न द्वन्द्व पीडित सुरक्षाकर्मीको नाम राजनीति गर्न पाईदैन,’ थापाले भने, ‘पार्टी खोलेर पुनर्बहालीको आन्दोलनलाई कमजोर बनाईएको छ ।’
पार्टी खोलेर गएका संयोजक घिमिरे र सह–संयोजक विष्टले पीडित सुरक्षाकर्मीको रकम हिनामिना गरेको आरोप (रकम हिनामिनाको थप समाचार हेर्न यो लिंकमा क्लिक गर्नुस्)लगाईएको थियो । संयोजक थापाले रकम हिनामिना गर्ने उनीहरुलाई थप कारबाहीको माग गरे । (तस्विर कारबाहीमा परेका संयोजक सूर्यबहादुर घिमिरे)

प्रतिक्रिया