भगौडा सेना/प्रहरीका नाममा करोडौँ हिनामिना

Bhagauda-Suraksha-karmi-1काठमाडौं, ११ वैशाख । द्वन्द्व पीडित सेना–प्रहरी राष्ट्रिय संघर्ष समितिका संयोजक सूर्यबहादुर घिमिरेले भगौडा सेना/प्रहरीबाट करोडौँ रुपियाँ उठाएर हिनामिना गरेका छन् । सौर्यलाई प्राप्त दस्तावेजमा घिमिरेले करोडौँ रकम उठाएको स्वीकारसमेत गरेका छन् ।

भगौडा सेना/प्रहरीलाई जागिरमा पुनर्बहाली गराइदिने भन्दै संघर्ष समितिका नाममा केही दिनअघिसम्म बागबजारको एक होटेलबाट ८ हजारका दरले फारामसमेत बिक्री भइरहेको थियो ।
संयोजक घिमिरेले संघर्ष समितिमा आबद्ध सबै सदस्यबाट एक हजारदेखि ६ हजार ५ सय रुपियाँसम्म उठाएका थिए । कार्यालय व्यवस्थापन र आन्दोलन चर्काउन भन्दै रकम उठाइएको थियो । तर, अहिलेसम्म कति रकम उठ्यो, कति खर्च भयो र के–केमा खर्च भयो भन्ने विवरण उनले समितिमा समेत दिएका छैनन् ।
संघर्ष समितिमा २५ हजार भगौडा सेना/प्रहरी आबद्ध रहेको एक सदस्यले बताए । सबै सदस्यबाट रकम उठाइएको थियो । धेरैजसो सदस्यले ६ हजार ५ सय रुपियाँ तिरेको स्रोतको दाबी छ । यसरी कम्तीमा पनि ७ करोड रकम उठाइएको स्रोतको दाबी छ । सबै सदस्यबाट ३ हजारका दरले मात्रै उठाए पनि ७ करोड ५० लाख हुन आउँछ । ‘संयोजकले करोडौँ रुपियाँ हिनमिना गरेका छन्, त्यत्रो उठाइएको रकमको हिसाबकिताब कहीँ पनि देखिँदैन,’ स्रोतले भन्यो ।
सशस्त्र द्वन्द्वका क्रममा जागिर छाडेका सेना प्रहरीको सम्बन्धमा अध्ययन गर्न शान्ति मन्त्रालयबाट गठित समितिको तथ्यांकअनुसार मुलुकभर ४६ हजार ४ सय ९० भगौडा सेना/प्रहरी छन् । जसमा १९ हजार चार सय ८४ नेपाली सेना, आठ हजार पाँच सय ४३ सशस्त्र प्रहरी, ११ हजार दुई सय ८० नेपाल प्रहरी र ६ हजार ७ सय ६ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी छन् । छानबिन समितिको तथ्यांकमा भएजति सबै भगौडा सेना/प्रहरी संघर्ष समितिमा आबद्ध छैनन् ।
संयोजक घिमिरेले रकम हिनामिना गरेपछि केही सदस्यले आर्थिक विवरण मागेका थिए । पछि उनले बैतडी रोलेश्वर–४ का ५० वर्षीय प्रेमबहादुर विष्ट, दोलखा बुलुङ–५ का ३५ वर्षीय रिमबहादुर कार्की, रोल्पा मेसिना–७ का ३१ वर्षीय पूर्णबहादुर घर्ती मागर, दोलखा च्यामा–५ का ३२ वर्षीय कविर घिमिरे, ओखलढुंगा फुलबारी–१ का ३३ वर्षीय रामबहादुर Bhagauda-Suraksha-karmi-2थापा, रोल्पा धोबीडाँडा–१ का ३२ वर्षीय हेमन्त बुढा र रोल्पा फङ्री–१ का ३५ वर्षीय रामविक्रम शाहको रोहबरमा आफूले रकम उठाएको स्वीकार गर्दै लिखित कागज बनाएका थिए ।
३ भदौ २०६९ मा सो कागजमा संयोजक घिमिरेले भगौडा सेना/प्रहरीबाट एक हजार देखि ६ हजार ५ सय रुपियाँसम्म संकलन गरिएको स्विकारेका छन् । सबै रकमको हिसाबकिताब ९ भदौमा हुने साधारणसभामा प्रस्तुत गरिने र हिनामिना भएको सबै रकम संयोजक घिमिरेको चलअचल सम्पतिबाट असुल गरिने कागजमा उल्लेख छ ।
स्रोतका अनुसार समितिको साधारणसभा तोकिएकै मितिमा गरिए पनि आर्थिक विवरण भने पेस गरिएन । सभा सकिने बेलामा संयोजक घिमिरे गुन्डागर्दी शैलीमा प्रस्तुत भएपछि समितिको आर्थिक विवरण प्रस्तुत हुन नसकेको स्रोत बताउँछ । उनलाई संघर्ष समितिका सहसंयोजक भेषबहादुर केसीले पनि साथ दिएको पीडितहरू बताउँछन् । रकम हिनामिनामा केसीको पनि संलग्नता रहेको स्रोतको दाबी छ ।
संयोजक घिमिरेले समितिको बदनाम मात्रै नगरेर आर्थिक हिनामिनासमेत गरेको पाइएपछि कारबाहीका लागि पीडितहरूले ११ भदौ २०६९ मा महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी पनि गरेका थिए । परिसरबाट न्याय दिलाउन केही पहल नभएपछि पीडितले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पनि उजुरी हालेका थिए । भ्रष्टाचार गरेको भन्दै उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा पनि उजुरी दिएका थिए ।
साधारणसभामा आर्थिक प्रतिवेदन नबुझाएपछि ९ भदौमा समिति नै विघटन गरिएको भनिए पनि घिमिरे आफूलाई अहिले पनि संघर्ष समितिको संयोजक भएको बताउँछन् । सदस्यहरूबाट रकम उठाएको विषयमा उनले सुरुमा अनभिज्ञता जनाए । ‘हामीले रकम उठाएका छैनौँ, भ्रष्टाचार पनि भएको छैन,’ उनले भने ।
तर, रकम उठाएको स्विकारेको कागज सौर्यसँग रहेको बताएपछि भने घिमिरे केही अन्कनाए । ‘कार्यालय व्यस्थापनका लागि केही रकम उठाइएको हो,’ उनले भने । संघर्ष समितिका बारेमा थप जानकारी दिन अनुरोध गर्दा उनले ‘म तपाईंलाई भेटेरै कुरा गर्छु’ भने ।
संघर्ष समितिको कार्यालय अहिले बागबजारस्थित सुपर लुम्बिनी गेस्ट हाउसको तेस्रो तलामा छ । केही दिनअघिसम्म त्यहाँबाट भगौडा सेना/प्रहरीलाई जागिरमा पुनर्बहाली गराइदिने भन्दै आठ हजारका दरले फाराम बेचिँदै थियो । सौर्यले त्यसबारे समाचार प्रकाशन गरेपछि प्रहरीले कार्यालयमा छापा मारे पनि पीडित पक्षबाट उजुरी नपरेकाले पक्राउ परेका सबैलाई छाडिएको थियो ।

प्रतिक्रिया