‘मह गाउँ’ बनाउने अभियान सुरु

म्याग्दी : स्थानीय कृषकले मौरीपालन व्यवसाय विस्तारमा गरेर म्याग्दीको पात्लेखेत गाविसको बाखेतलाई ‘मह गाउँ’का रूपमा विकास गर्ने अभियान सुरु गरेका छन् ।

पात्लेखेतको ६, ७, ८ र ९ मा पर्ने बाखेतका कृषक मौरीपालन व्यवसायलाई मुख्य आयस्रोत र बस्तीलाई नै मौरीपालन व्यवसायमा नमुना बनाउन ‘मह गाउँ’ निर्माण अभियानमा जुटेका हुन् । सोका लागि बाखेत लद्युउद्यमी संघको नेतृत्वमा एक घर एक घार मौरी अभियान सञ्चालन गरिएको छ ।
एक सय ५० घरपरिवारले बसोबास गर्ने बाखेतका प्रत्येक घरमा कम्तीमा पनि एक घार व्यावसायिक मौरीपालन गर्ने अभियान चलाइएको संघका अध्यक्ष लोकबहादुर पुनले बताए । अहिले ३० घरमा व्यावसायिक मौरीपालन सुरु भइसकेको छ ।
उनीहरूले कम्तीमा पाँचदेखि १५ घार मौरी पालेका छन् । अन्य घरमा पनि कम्तीमा एउटा घार मौरी रहेको छ । काठे तथा परम्परागत घारलाई परिवर्तन गरी आधुनिक घार प्रयोग गर्न थालिएको छ । मध्यम किसिमको हावापानी पाइने र जंगलनजिकै रहेको सो गाउँमा एपी सेरेना जातको मौरी पालिएको छ । ‘मह गाउँ’ बनाउने अभियानमा विदेशमा काम गरेर फर्केका १५ जना युवा कृषक सक्रिय बनेका छन् । बजारमा महको माग उच्च रहेको र गाउँमा उपयुक्त वातावरण भएकाले परम्परागत रूपमा गरिँदै आएको मौरीपालनलाई व्यावसायिक बनाएको इराकमा रोजगारी गरेर आएका डेग पुनले बताए ।
बाख्रा, गाईभैँसी, कुखुरालाई जस्तो स्याहारसुसार र धेरै लगानी गर्न नपर्ने भएकाले मौरीपालन व्यवसाय सजिलो भएको कृषक पुनको भनाइ छ । गाउँनजिकै जंगल भएको र घरवरिपरिका खेतबारीमा पनि मौरीका लागि आवश्यक चरन भएकाले मौरीपालन व्यवसायका लागि बाखेत सम्भावनायुक्त स्थान भएको अर्का युवा कृषक जयप्रसाद पुर्जाको भनाइ छ ।
प्रतिघार सिजनमा सात लिटर मह उत्पादन हुने गरेको कृषकहरू बताउँछन् । मौरीपालनका लागि पकेट क्षेत्र मानिएको बाखेत गाउँमा वार्षिक २० लाख रुपियाँ मूल्य बराबरको मह उत्पादन हुने गरेको लद्युउद्यमी संघका अध्यक्ष पुनले बताए । बाखेतमा उत्पादन हुने मह गाउँबाटै प्रतिलिटर एक हजारका दरले बिक्री हुने गरेको छ । गत महिनामा मात्रै बाखेतमा ४५ घार मौरी थपिएको छ । जिल्ला कृषि विकास कार्यालय, लद्युउद्यम विकास कार्यक्रम, संगम म्याग्दीलगायत संघसंस्थाबाट मौरीपालनका लागि प्राविधिक सहयोग हुने गरेको छ ।

प्रतिक्रिया