खोजखबर

युनिफर्ममा हिँड्दा मान्छे रोकिएर हेर्थे

सौर्य अनलाइन २०७० जेठ २३ गते २:४५ मा प्रकाशित

Pravati-Thapa-Magar-Dig-Souउसबेला अहिलेजस्तो प्रशस्त सञ्चारमाध्यम थिएनन् । रेडियो नेपाल एउटा थियो, पत्रपत्रिका पनि धेरै थिएनन् । बुबा भारतीय आर्मीमा हुनुहुन्थ्यो । ‘सैनिक’ पत्रिका घरमा ल्याउनुहुन्थ्यो । त्यहाँ भारतीय सेनामा कार्यरत महिलाहरूको फोटो छापिएको हुन्थ्यो । महिला क्याप्टेनहरूको फोटो हेरेर दंग पर्थें । लाग्थ्यो– आफू पनि त्यस्तै जागिर खान पाए † युनिफर्म देखेरै लोभ लाग्थ्यो । त्यति बेलाका हलिउड सिनेमामा नायिकाहरूले प्रहरी अधिकृत भएर खेलेको भूमिकाले मलाई आकर्षित गथ्र्यो । उनीहरूले चलचित्रमा गुन्डा–बदमाससँग फाइट खेलेर तह लगाएको देख्दा रमाइलो लाग्थ्यो ।
त्यसो त त्यो उमेरदेखि नै म जे गरे पनि चुनौतीपूर्ण काम गर्छु भन्नेमा चाहिँ निश्चित थिएँ । पहिला पढाइ पूरा गर्नु थियो । सहज काम त जसले पनि गर्छ, साहसिलो काम गरुँ, राष्ट्रसेवा गरौँ भन्ने थियो । कालान्तरमा मेरो बिहे भयो । बुबा, ससुरा, श्रीमान् सबै सुरक्षा निकायमा संलग्न हुनुहुन्थ्यो । फेरि मगर समुदायका मान्छे प्रशासनभन्दा सुरक्षाफौज नै बढी मन पराउँथे ।
तर, ३० वर्षअघिको नेपालमा महिलाका लागि प्रहरीमा जागिर खोज्नु नितान्त नौलो थियो । महिलाको रोजाइ पनि अन्य क्षेत्र नै हुन्थ्यो । प्रहरी हुनुभन्दा शिक्षिका हुन मन पराउँथे । कतै जानै नपर्ने, स्कुल र घर गरे पुग्ने । प्रहरीमा त पुरुषसँगै कठोर तालिममा सहभागी हुनुपथ्र्यो । सबैले सहज रूपमा लिँदैनथे । तर, मेरो घर तथा माइती दुवैतिर आफ्नो इच्छाले काम गर्न पाउने वातावरण थियो । पारिवारिक सहयोगमै प्रहरीसेवामा प्रवेश गरेँ ।
जागिर सुरु गर्दा छोरी जन्मिसकेकी थिई । बेसिक तालिममा सहभागी हुने बेलामा त छोरा पनि जन्मिसकेको थियो । श्रीमान् पनि यही क्षेत्रमा भएकाले तालिम कति कठिन हुन्छ भन्ने उहाँलाई थाहा थियो । मेरो माया लागेछ । भन्नुभयो– ‘कैयौँ लोग्ने मान्छे तालिम गर्न नसकेर भाग्छन् । महिलालाई झन् गाह्रो होला । बच्चा सानै छन्, काम छोडिदेऊ बरु ।’ तर, मैले आँट जुटाएँ– ‘स्वास्थ्यले साथ दिँदासम्म काम गर्छु । जतिबेला सकिँदैन, त्यति बेला छोडौँला ।’
सानैदेखि गाउँघरमा भनेको सुन्थेँ– लोग्नेमान्छेले गर्ने काम महिलाले गर्न सक्दैनन् । त्यो मलाई ठीक लाग्दैनथ्यो । ‘म गरेर देखाउँछु’, सोच्थेँ । काम कत्तिको कठिन छ भन्ने थाहा पाउन त्यसको अनुभव लिनुपर्छ । काममा हातै नहाली गाह्रो छ भनेर पछि हट्न हुँदैन । इच्छाशक्ति हुने हो भने महिला होस् वा पुरुष, सबैले सफलता हासिल गर्छन् ।
म प्रवेश गर्दा प्रहरीमा महिलाको संख्या निकै थोरै थियो । अझ प्रहरी अधिकृतमा त जम्मा चार जना थियौँ । मैले युनिफर्ममा मोटरसाइकल हाँकिरहेको देख्दा बाटामा मान्छेहरू रोकिएर हेर्थे । मलाई गर्व लाग्थ्यो, थोरै मात्र महिलाले गरेको काम गरेकोमा । यतिबेला डिआइजीका रूपमा हिँड्दा पनि मान्छेको नजर मतिर जिज्ञासापूर्ण नै हुन्छ, धेरैजसो । भाग्यले साथ दिएकाले पनि होला, यो क्षेत्रमा लागेर धेरै कुरामा प्रथम भएँ । प्रथम हुने रहर सबैको हुन्छ । तर, रहरले मात्र हुँदैन, मेहनत, लगनशीलता र आत्मविश्वास पनि सँगै हुनुपर्छ । पहिलो महिला डिएसपी भएँ । मानसम्मान पाएँ । अहिले महिला डिएसपी धेरै छन् । त्यो सबै समयले ल्याएको परिवर्तन हो । विस्तारै महिला डिआईजी पनि सामान्य हुन थाल्नेछ ।
क्षेत्र, अञ्चल, जिल्ला सबैतिर पहिलो भएर काम गर्ने अवसर पाएँ । काममा कसैलाई औँला ठड्याउने ठाउँ दिइनँ । धेरै प्रहरीको कमान्ड गरेँ । फरक रूपमा काम गर्न सकेकोमा आनन्द लाग्छ । अहिले लाग्छ– अरू कुनै क्षेत्रमा काम गरेकी भए यत्तिको सन्तुष्टि पाउने थिइनँ । प्रहरीमा फुली बढाउँदै लैजान सरल छैन । मुलुकमा द्वन्द्व चर्केका बेला धादिङमा प्रहरीप्रमुखको भूमिका निर्वाह गरे । कुनै पुरुषले भन्दा कम गरिनँ, बरु कत्ति जिम्मेवारी त पुरुषले गर्दै आएका भन्दा राम्ररी निर्वाह गरेँ होला । द्वन्द्वको त्यो घरमा परिवार समाचार सुन्ने आँट गर्दैनथे, मेरो मृत्युको खबर सुन्नुपर्ला भनेर । त्यतिबेला जिल्लामा काम गर्नु सबैका लागि चुनौतीपूर्ण थियो ।
हरेकको परिवार हुन्छ, आफ्नैखाले मानवीय संवेदना । मेरो पनि छ । कैयौँपटक परिवारसँग बाहिर जान ठिक्क परेका बेला माथिबाट केही न केही आदेश भएको छ । परिवारलाई मात्र होइन, मलाई पनि खल्लो लाग्थ्यो । तर, मन दुखाएर कहाँ भयो र, जागिरै त्यस्तो छानेपछि । सधैँ कामलाई महत्त्व दिएँ । त्यसो नगरेको भए जहाँबाट जागिर सुरु गरेँ, अहिलेसम्म पनि त्यहीँ हुन पनि सक्थेँ । कार्यालयको जिम्मेवारीलाई पारिवारिक समस्यासँग जोडिए सफल भइँदैन । पदीय जिम्मेवारीका अगाडि पारिवारिक समस्या गौण हो । तर, पुरुषले कुनै कामका लागि बिदा लिँदा सामान्य मान्छन् । महिलाले त्यही कामका लागि बिदा लिँदाचाहिँ काम छल्ने बहाना बनाएको भनेर कुरा काट्ने संस्कार पनि हाबी भएको छ ।
०४० सालमा केही प्रहरी अधिकृतको माग भयो । मलाई त्यो रहर थियो । आवेदन दिन गएँ, बुझ्नै मानेनन् । भनियो– ‘यो पुरुषको कोटा हो, महिलालाई होइन ।’ प्रहरी सहायक निरीक्षकमा भर्ना भएर चित्त बुझाएँ । ०४२ मा प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेर नाम निकालेँ । डिबी लामा आइजी थिए । उनले नै भने, ‘अब महिलालाई पनि माथिल्लो पोस्टमा प्रतिस्पर्धा गराउनुपर्छ ।’ मैले त्यो अवसर खेर जान दिइनँ । मेहनत गर्छु भनेरै आएकी थिएँ, गरेँ पनि । सुरुदेखि आजसम्म पनि काममा विवाद नआओस् भनेर सचेत छु । राष्ट्रिय जिम्मेवारी पूरा गर्ने सबालमा निजी स्वार्थमा अल्झिनु मेरा लागि अमान्य छ । अहिले कामसँगै समयसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने बेला आएको छ । त्यसैले हरेक क्षण चनाखो हुन्छु ।
मेहनतकै कारण जिम्मेवारीसँग मेरो काँधमा फुली पनि थपिँदै गए । म त खुसी हुन्छु नै, आफन्त र साथीहरू पनि गर्व गर्छन् । लगनशील भएपछि सफलता हात लाग्नु स्वाभाविकै हो । यो क्षेत्रमा लागेर अहिलेसम्म कुनै पछुतो छैन । जिल्लामा प्रमुख हुँदा महिलाहरूले बढी अपेक्षा गर्थे, म महिला भएकाले । तर, न्याय दिने सबालमा वर्ग हेर्न हुँदैन । म सबैको प्रहरी हुँ, सबैलाई न्याय दिनु मेरो कर्तव्य हो ।
एउटी महिला सफल हुन परिवारको सहयोग र इच्छाशक्तिको ठूलो भर हुँदो रहेछ । जिम्मेवारी पाउनुभन्दा त्यसलाई कुशलतापूर्वक सम्पादन गर्नु अझ ठूलो कुरो हो । त्यो त पूरै व्यक्तिको क्षमताको कुरा हो । तर, समाजले महिलाको कामलाई सहज रूपमा लिँदैन । एउटै काममा पुरुषको भन्दा महिलाको मेहनत बढी खोज्छ । म महिला भएका कारणले डिआइजी भएकी हुइनँ, क्षमताकै कारण हो । नत्र त ठूलाबडाकी श्रीमती सबैले ठूलै ओहदा पाउँथे होलान् । तीस वर्षदेखि यो क्षेत्रमा मेहनत गरिरहेकी छु । यी फुली कमाउन चुनौती पनि थुप्रै पार गरेकी छु । युवावस्थको जोसजाँगर सबै लगाएर पाएको सफलता हो यो । सानासाना छोराछोरी अरूलाई सुम्पेर काम गरियो । जतिबेला उनीहरूलाई आमाको आवश्यकता थियो, त्यो पूरा गर्न सकिनँ । काम नै ठूलो मानेँ ।
पार्वती थापाले जति पाउनुपर्ने हो, पाइन भनेको सुन्छु कसैकसैले । तर, मलाई महिला भएकै कारण उसले यो सुविधा र सहुलियत पाई भनेको कदापि सुन्नु छैन । शान्ति सम्झौतापछि यो क्षेत्रमा मूल्यांकन गर्ने परिपाटी परिष्कृत हुन थालेको छ । महिलामाथि न्याय हुँदै गएको अनुभूति छ । लोकतन्त्र स्थापनापछि योग्यता र क्षमताको आधारमा मूल्यांकन भएको छ । त्यसले काम गर्ने जोस र जाँगर बढाउँछ ।
पश्चिमाञ्चलक्षेत्रको प्रमुख हुँदा रोल्पा मात्र पाँचपटक गएँ । दुई महिना सुदूरपश्चिम बसेँ । त्यो क्षेत्रका नौमध्ये सात जिल्लाको भ्रमण गरेर भ्याएँ । सहजता कहिल्यै मेरो रोजाइमा पर्दैन । चुनौतीले काम गर्दा जुन आनन्द आउँछ, आरामले गर्दा आउँदैन । मान्छेको मूल्यांकन तथ्यका आधारमा गरिनुपर्छ ।
मेरो कामको व्यस्तता र परिवारलाई समय दिन नसक्दा छोराछोरी सन्तुष्ट छैनन् । छोरालाई यसै क्षेत्रमा जागिर खान भनेँ, मानेन । भन्यो, ‘तपाईं त हामीलाई समय दिन पाउनुहुन्न । त्यसैले निजी जीवनै नभएको क्षेत्रमा काम गर्दिनँ ।’ सधैँको व्यस्तता देखेर उनीहरू दिक्क मान्छन् । मलाई पनि लाग्छ कहिलेकाहीँ, ‘खोइ त मेरो निजी जिन्दगी †’ तर, उही व्यस्तता र चुनौती नै महत्त्वपूर्ण लाग्न थाल्छ, गौरवानुभूति हुन्छ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय