बिचार, खाऊ र जोगाऊ

संसारमा बढ्दो वातावरण विनाश र त्यसले निम्त्याउने प्रभावबारे जनचेतना विस्तार गर्ने, वातावरण संरक्षणक्षेत्रमा प्रभावकारी काम गर्ने र दिगो विकासमा जोड दिने लक्ष्यसाथ प्रत्येक वर्ष ५ जुनलाई विश्व वातावरण दिवसका रूपमा मनाउने गरिएको छ । यसपटक यो दिवस बुधबार २२ जेठमा परेको थियो । अन्यत्रजस्तै नेपालमा पनि यो दिनलाई औपचारिक रूपमा मनाएर बिदा गरियो । सरकारी तवरबाट भन्दा पनि गैरसरकारी स्तरमा कार्यरत दर्जनौँ संस्थाहरूले क्यामेराहरूको क्लिकक्लिकअगाडि कतै सानो जुलुस, कतै प्लेकार्ड प्रदर्शन त कतै होटलमा गोष्ठी वा सेमिनार गरेर बनाए । कतिपय बोर्डिङ स्कुलका विद्यार्थी ‘सेभ आवर इन्भायोरनमेन्ट’ समेतका अनेक नारा लेखिएका प्लेकार्डसहित जुलुसमा सामेल भएको देखियो । विश्वले पहिलो वातावरण दिवस आजभन्दा ४० वर्षपहिले ५ जुन १९७३ मा मनाएको थियो । संयुक्त राष्ट्रसंघीय महासभाको निर्णयअनुसार, त्यस अगिल्लो वर्ष ५–१६ जुन १९७२ मा ‘युनाइटेड नेसन्स कनफेरेन्स अन द ह्युमन इन्भायोरनमेन्ट’ शीर्षकमा विश्व सम्मेलन भएको थियो । लगत्तै वातावरण संरक्षणसम्बन्धी सबै कामकारबाही हेर्न ‘संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम’ (युनेप) को गठन भयो । सोही विश्व वातावरण सम्मेलन सुरु भएको दिन अर्थात् ५ जुनलाई आधार बनाई विश्व वातावरण दिवस मनाउन थालिएको हो । हरेक वर्ष एउटा–एउटा
सन्देशसहित मनाउने गरिएको वातावरण दिवसको यस वर्षको सन्देश हो– बिचार, खाऊ र जोगाऊ– थिङ्क, इट, सेभ । खाना बासी राख्ने र फाल्ने अथवा धेरै पस्केर आधा खाएर फाल्ने, अथवा यो वा त्यो कारण देखाएर खाद्यान्न खेर फाल्ने प्रवृत्ति वा बानी सच्याउन प्रेरित गर्ने लक्ष्यसाथ यस वर्ष यो सन्देश राखिएको हो ।
तीन दशकभन्दा धेरै भइसक्यो नेपालले विश्व वातावरण दिवस मनाउन थालेको । यो बीचमा सन् १९९२ मा पृथ्वी सम्मेलन भएको थियो जसमा नेपालले ठूलो संख्यामा सहभागिता जनाएको थियो भने त्यसयता अहिलेसम्म नेपालले वातावरण संरक्षणसम्बन्धी विभिन्न २१ वटा अन्तर्राष्ट्रिय सन्धि–अभिसन्धिमा हस्ताक्षर गरिसकेको छ । त्यति मात्र नभएर नेपाल सरकारले ‘वातावरण संरक्षण ऐन’ को निर्माणसमेत अनेक नीतिनिर्देशिका र योजना पनि अगाडि सारेको छ । विदेशी सहयोग एवं अनुदानमा प्रशस्त रकम पनि यस क्षेत्रमा खर्चेको छ तर परिणाम भने कहिल्यै प्रशंसनीय देखा परेको छैन । समस्या खास समयमा अत्यन्त सक्रियजस्तो देखिने र धेरैजसो समय निष्क्रिय एवं सुस्त रहने, अर्थात् दृढ प्रतिबद्धताको चर्को अभाव नै देखिएको छ । वातावरण संरक्षण क्षेत्रमा केवल एक दिन एउटा दिवस मनाएर खासै केही उपलब्धि प्राप्त हुँदैन । यो त वर्षैभरि मनाउनेभन्दा पनि काम गरेर देखाउने विषय हो ।
अन्य मुलुकजस्तै नेपाल पनि वातावरण विनाशको चपेटामा परिसकेको छ । सबैभन्दा ठूलो समस्या त सुदूर उत्तरमा रहेका हिमालको हिउँ पग्लिएर हिमालहरू कालापत्थरका रूपमा दृष्टिगोचर हुन थालेका छन् । तराई र मध्यपहाडमा वनविनाशको कहालीलाग्दो अवस्था छ । शिवालिक अर्थात् चुरे क्षेत्रका जंगलमा वनविनाशको स्थिति अझ भयावह छ । राजधानी उपत्यकामै वायु प्रदूषण, जल प्रदूषण, अव्यवस्थित फोहोर र ढलको समुचित निकास हुने गरी सन्तुलित व्यवस्थापन हुन नसकेको स्थितिजस्ता समस्या विकराल रूपमा देखिँदै आएका छन् । बढ्दो जनसंख्या र त्यसले निम्त्याएको अनियोजित आवासनिर्माणले उस्तै समस्या थपेका छन् । यसै कारणले गर्दा राजधानी उपत्यकामा क्रमश: हरियाली लोप हुँदै छ र सर्वत्र कंक्रिटको जंगल विस्तार हुँदो छ । त्यसमाथि हिन्दूहरूको परम पवित्र मानिने बाग्मती नदीको चरम प्रदूषित अवस्था र त्यहाँ बग्ने ढलमिश्रित फोहोर पानीले समस्याका पहाडै खडा गरेको छ । त्यसो त यो नदीलाई सफा र प्रदूषणरहित पार्न करोडौँ रुपियाँ लगानी नगरिएको होइन तर यथोचित योजनाबद्धता र समुचित अनुगमन नहुँदा त्यो रकम बाग्मतीको बालुवामा हराएसरह हुन गएको छ । बरु, त्यो रकम सञ्चालन गर्ने दायित्व पाएका अनगिन्ती व्यक्तिहरू भने राम्रैसँग ‘संरक्षित’ भएको खबर बेला–बेलामा मिडियाले सार्वजनिक गरेकै विषय हो ।
त्यसो त वातावरण विनाश केवल एउटा नेपाल देशको मात्र समस्या होइन यो त ग्लोबल फेनोमेना हो । सारा विश्व र समस्त चराचर जगत् नै बढ्दो पर्यावरणीय संकटबाट प्रभावित छन्, आक्रान्त छन् । नेपालजस्ता अल्पविकसित, अन्य अविकसित र विकासशील देशहरूको दाँजोमा अहिले विकसित पहिलो विश्वका मुलुकहरू नै पर्यावरणीय असन्तुलनका प्रमुख कारक तत्व हुन् । वैज्ञानिकहरू समेत चिन्तित बनेको वायुमण्डलमा देखा पर्न थालेको प्वाल ‘ओजोन होल’ विकसित मुलुकले विसर्जन गरेको औद्योगिक फोहोर एवं कार्बन मोनोअक्साइड नै हो । तसर्थ, पर्यावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय मात्रामा पुँजी प्रवाह गर्नुपर्ने प्रमुख दायित्व उनीहरूकै हो । नेपालजस्ता मुलुकले जल, जंगल र जमिनको संरक्षणका साथै फोहोरादि व्यवस्थापनमा ध्यान पुर्‍याउन सके विश्व पर्यावरण संरक्षणको दिशामा यथेष्ट सहयोग पुग्न सक्छ ।

प्रतिक्रिया