न्युरो–मनोविज्ञान

वैज्ञानिक सकारात्मक सोच

मानिसको जीवनमा सोचको ज्यादै ठूलो महत्त्व छ । त्यसैले त महात्मा बुद्धले भनेका छन्, ‘जस्तो सोच्चौँ तिमीत्यस्तै हुन्छौँ ।’ यो वैज्ञानिक तथ्य हो । प्रसिद्ध मनोचिकित्सक आरुन बेकको कग्निटिभ मोडलका अनुसार चिन्ता तथा डिप्रेसनजस्ता मानसिक समस्याहरूको प्रमुखकारण भनेको नै मानिसको सोच हो । यस मोडलका अनुसार नकारात्मक र अतार्किक सोचले नै डिप्रेसनलगायतका मानसिक रोगहरू पैदा गर्छ । त्यसैले यस्ता रोगहरूबाट मुक्त हुनका लागि अतार्किक, नकारात्मक सोच हटाएर तार्किक, सकारात्मक सोच स्थापित गर्न जरुरी हुन्छ ।
उचित र तार्किक विचारहरूमा मनमस्तिष्क पुन:संरचना गर्ने सामथ्र्य हुन्छ । अंगुलिमाललाई नै हेर्नुहोस् । एउटा विचारले ऊ हत्यारा भएको थियो, बुद्धको अर्को विचारले ऊ एकैछिनमा भिक्षु भयो । साइको थेरापीको एक विधि, संज्ञानात्मक मनोचिकित्सा (कग्निटिभ थेरापी)ले गर्ने पनि यही हो ।
सोचको न्युरो विज्ञान:
सोच अर्थात् विचारको उद्गम स्थल मस्तिष्क हो । विचारको प्रभाव पनि सबैभन्दा बढी मस्तिष्कमा नै पर्छ, अनि मस्तिष्कमार्फत सम्पूर्ण शरीरमा पर्छ । वैज्ञानिक रूपमा नै प्रमाणित भएको छ कि जब मानिसको मनमा विचार उत्पन्न हुन्छ, तब मस्तिष्कमा रासायनिक क्रिया तथा प्रतिक्रिया उत्पन्न हुन्छ, जसले गर्दा विचारसँग सम्बन्धित रसायन, न्युरो पेप्टाइडहरू सक्रिय हुन्छन् ।
न्युरो पेप्टाइड केवल मस्तिष्कमा मात्र हुँदैन, शरीरभरि नै रहन्छ, पेट, मिर्गौला तथा कलेजोलगायतका अंगहरूमा पनि यसको उपस्थिति हुन्छ । यसै कारणले नै विचारले मानिसको शरीरिक ढाँचा तथा रंग–ढंगले पनि निर्धारित गर्छ ।
मानिसको मस्तिष्कमा सैयौँ प्रकारका स्नायु रसायनहरू हुन्छन्, तीमध्ये सेरोटोनिन, नोरएपिनेफ्रिन तथा डोपामिन, यितिन प्रसन्न हलकारा (म्यासेन्जर) हुन् । यिनै रसायनिक हलकाराहरूमा नै मानिसका आनन्द, खुसी तथा प्रसनन्ता टिकेका हुन्छन् । यदि यी हलकाराले ठीक काम गरेनन् भने मानिस खुसी र प्रसन्न रहन सक्दैन, जसले गर्दा अनिद्रा, चिन्ता तथा डिप्रेसन हुने गर्छ । त्यसैले त भनिएको नै छ सकारात्मक सोच तथा शुभ संकल्प शक्तिले नै मानिसलाई महान् बनाउँछ । यो एक कोरा विचार होइन, विज्ञान हो, प्राक्टिकल हो ।
सोचको दुई रूप:
साधारणतया सोचका दुई रूप हुन्छन् अर्थात् सोच दुई किसिमका हुन्छन् । (१.) सकारात्मक सोच (२.) नकारात्मक सोच । यसलाई राम्रो र नराम्रो सोच भन्न सकिन्छ, असल र खराब सोच वा फल र काँडा सोच पनि भन्न सकिन्छ । तर सोचको सन्दर्भमा बुझ्नै पर्ने मनोविज्ञान के हो भने मानिसको मनमस्तिष्कलगायत सम्पूर्ण शरीरमा राम्रा विचारको प्रभाव सधैँ राम्रो पर्छ र नराम्रो विचारको प्रभाव सधैँ नराम्रो नै पर्छ ।
तर, मानिसको यस्तो सोच तथा दृष्टिकोणलाई विभिन्न तत्वहरूले प्रभाव पार्छन् । त्यसैले यस्ता तत्वहरूले नै मानिसको सोच र दृष्टिकोण निर्धारण गर्छन् । मानिसको सोच र दृष्टिकोण निर्धारण गर्ने केही प्रमुख तत्वहरू हुन्:
(१.) पैत्रिकदाय (२.) अनुभव (३.) वातावरण (४.) स्व:संचना (५.) शिक्षा । यी यावत् कुुराहरूद्वारा नै मानिसको सोच तथा दृष्टिकोण बन्ने गर्छ । तर, खुसीको कुरा के भने मानिसले चाहेको खण्डमा आफ्नो सोच र दृष्टिकोणलाई परिवर्तन गर्न सक्छ ।
त्यसैले हाम्रा नेताले नेपाली नागरिकलाई कालो बादलमा चाँदीको घेरो दखाउनु बिलकुल ठीक कुरा हो । तर, नेपाली नागरिकको विडम्बना के भने यस्तो आशावादी दृष्ट्रिकोण राख्ने नेताले विस्टन चर्चिलले भनेझैँ कठिनाइहरूमा औसर खोजेको चाहिँ पटक्कै देखिँदैन ।
सकारात्मक सोचको आधार:
हो, विश्वास गर्नु ठीक हो । अन्धविश्वास गर्नु कदापि ठीक होइन । सकारात्मक सोच राख्नु ठीक हो । सकारात्मक सोचमा अद्भुत शक्ति हुन्छ । तर, हुर्किएको आगो निभाउन सकारात्मक सोच राखेर हुँदैन, हुर्किएको आगोमा पानी हाल्नुपर्छ । एक दिन त आगो निभ्ने छ भनेर सकारात्मक सोच राख्दा के हुन्छ, थाहा छ ? एक दिन आगो त निभ्ने छ, तर सबकुछ खरानी भएपछि मात्र आगो निभ्ने छ ।
नेपालमा ठीक यस्तै हँुदै छ । नयाँ नेपालको डिङ हाँक्ने अक्षम नेताहरूले आफ्नो अकर्मण्यता लुकाउन कालो बादलमा पनि चाँदीका घेरा हुन्छ भन्दै नेपाली नागरिकलाई सधैँ नांगो झुट बोल्दै छन्, नकारात्मक राजनीतिमा सकारात्मक सोच राख्न अनुरोध गर्दै नेपाली नागरिकलाई सधैँ महामूर्ख जनता बनाउन खोज्दै छन् ।
अनि पार्टीगत स्वार्थमा चुर्लुम्म डुबेर तथा विदेशीहरूका एजेन्डाहरूलाई जबरजस्ती लाद्न खोजेर यो देशलाई सुरुङ बाहिर होइन कि झन्–झन् सुरुङभित्र फसाउँदै छन् । यो नै नेपाली राजनीतिको स्पष्ट तस्बिर हो । त्यसैले सकारात्मक सोचको प्रवचन दिने प्रमुखदलको यस्तो नकारात्मकता माथि सकारात्मक सोचको कुनै अर्थ रहँदैन ।
सकारात्मक सोचको प्रवचन:
केहीवर्षयता नेपालमा पनि सकारात्मकता र सकारात्मक सोचको प्रवचन निकै फस्टाएको छ । राजनीतिक दलका साना–ठूला नेता, बुद्धिजीवी तथा चल्तापुर्जा मानिसले यसलाई आफ्नो स्वार्थकाखातिर खुब उपयोग पनि गर्दै आएका छन् । त्यसैले सकारात्मक सोचको महावाणी निकै सस्तो भएको छ । वास्तवमा भन्ने हो भने व्यवहारमा खोक्रो सकारात्मक सोच र विश्वासको कुनै अर्थ रहँदैन । त्यसैले कुरा तार्किक र वैज्ञानिक सकारात्मक सोचको हुनुपर्छ ।
तार्किक सकारात्मकता:
अखण्ड भजनकीर्तन गरेर वा हरहर महादेव पानी देऊ भनेर पानी पर्दैन, पानी कसरी पर्छ भन्ने कुरा अब धेरैलाई थाहा छ । इन्द्र रिसाएर वा भ्यागुतो नकराएर खडेरी पर्दैन, बाक्लो रूपमावन–जंगल फँडानी हँुदै गयो भने खडेरी पर्छ । त्यसैले खडेरीबाट बच्न भजनकीर्तनको ठाउँमा वन–जंगल फँडानी रोक्नुपर्छ, प्रशस्त रूखबिरुवाहरू रोप्नुपर्छ ।
माथि आकाशमा पानी लिएर इन्द्र बसेका छन्, उनले नै पानी बर्साउँछन् भन्ने जस्ता तथ्यहीन कुरामा विश्वास गरेर सोचले सकारात्मक काम गर्दैन । यस्तो अंधविश्वास र अतार्किक सोचले कालान्तरमा निराशा जन्माउँछ । सकारात्मक कार्यका लागि तार्किक (तथ्यगत) सकारात्मक सोच तथा सिर्जनात्मक चिन्तन (सिर्जनात्मकता) आवश्यक हुन्छ ।
पुछारमा:
सिजनात्मक चिन्तन यस्तो प्रक्रिया हो, जो लक्ष्य–निर्देशित हुन्छ । अर्थात् सिर्जनात्मकतामा व्यक्तिलाई आफ्नो लक्ष्य निश्चित थाहा हुन्छ र उसको हरेक व्यवहार यही लक्ष्यसँग सम्बन्धित हुन्छ । त्यसैले सकारात्मक सोचको हल्ला पिट्नेहरूले तार्किक र वैज्ञानिक सकारात्मक सोचको कुरा गर्नुपर्छ, आफ्नो व्यव्हारमा सकारात्मक अनुशासन देखाउनुपर्छ । विष वृक्ष रोपेपछि विष वृक्षमा विष नै फल्छ, अमृत फल्न सक्दैन । आजका युवाहरूले बुझ्नुपर्ने कुरा यही हो ।

प्रतिक्रिया