कान्ति बाल अस्पतालमा ‘सास्ती’

काठमाडौं : महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा सेवाग्राहीले उपचार सेवाभन्दा पनि सास्ती व्यहोर्ने गरेको पाइएको छ ।
मध्यपुर थिमीकी अनिषा घिमिरेले बुधबार १४ महिनाको बच्चालाई उपचारका लागि लिएर अस्पताल पुग्दा अस्पतालमा सास्ती मात्र पाइएको बताइन् । ‘बच्चालाई पेट दुख्ने बिमारले अस्त–व्यस्त बनाएपछि अस्पताल चहार्दै महाराजगन्जस्थित कान्ति बाल अस्पताल पुग्यौँ,’ उनले सौर्यसँग भनिन्, तर, त्यहाँ न कुनै प्रविधि छ, न त बच्चाको राम्रो उपचार नै गरिँदो रहेछ ।’
उनका अनुसार अस्पतालमा न बिरामीलाई राम्रो चेकजाँच गरिन्छ न त राम्रो परामर्श नै दिइयो । भौतिक रूपमा समेत बेहाल सरकारी अस्पतालभित्र पानी पर्दा आहालसमेत बन्दो रहेछ । ‘भक्तपुरबाट महाराजगन्जस्थित अस्पतालको आकस्मिक कक्षमा बिरामी पुर्‍याउँदा बच्चा शिथिल अवस्थामा थियो । अस्पतालमा डाक्टरहरूले वास्तै गरेनन्,’ उनले भनिन्, ‘दबाबमा बल्ल बच्चालाई के भएको रे भन्दै सोधखोज गरियो र दिसा चेक गर्ने अनि १९ नम्बर कोठामा जान भनियो । हामीले त्यसै गर्‍यौँ । तर, बच्चालाई बिमारले च्यापेपछि हामी आत्तियौँ ।’
उनले धेरै बेरपछि डाक्टरलाई बच्चाको अवस्थाबारे जानकारी गराउँदा उनले औषधि लेखिदिएकै रहेछ घर जानू भनेको सुनाइन् । ‘हामीले दिसाको रिपोर्ट नै नहेरी किन त्यसो भनेको भनी सोध्दा डाक्टरले बल्ल ‘ब्लड चेक गर्न र भिडियो एक्स–रे गरेर यहाँ आउन भने,’ उनले भनिन्, ‘तर कान्ति बाल अस्पतालमा भिडियो एक्स–रे बन्द छ टिचिङ अस्पताल जानू भने ।’
अन्य सेवाग्राही पनि बिरामी बच्चा बेडमा राखेर डाक्टरको प्रतीक्षामा बसेका थिए । ‘खै बिहानैदेखि आएर बसेको डाक्टर पनि आएनन्, कतिखेर आउने हुन् थाहै छैन,’ लामखुट्टे धपाउँदै बिरामी बच्चा एक कुरुवाले भनिन् ।

प्रतिक्रिया