पहिरोले आमाछोरीको ज्यान गयो

धनकुटा, २३ जेठ । अविरल वर्षाका कारण गएको पहिरोले पुरिएर धनकुटाको महाभारत–२ थाक्चिङराङमा बुधबार एकै परिवारको दुई जनाको मृत्यु भएको छ ।

घरमा सुतिरहेको अवस्थामा बिहान ४ बजेतिर पहिरोले घर पुरिँदा आमाछोरीको ज्यान गएको हो । पहिरोले घर पुरिँदा ८४ वर्षीया वृद्धा मकरमाया राई र छोरी ४८ वर्षीया दिलमायाको घटनास्थलमै मृत्यु भएको धनकुटा जिल्ला प्रहरीका एसपी सूर्यप्रसाद उपाध्यायले जानकारी दिए ।
पहिरोले घर पुरिएको थाहा पाएलगत्तै स्थानीयवासी र भेडेटार प्रहरी चौकीको सक्रियतामा आमाछोरीको शव निकालिएको थियो । शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम लैजान कच्चिबाटोमा यातायात सञ्चालन नहुँदा समस्या भएको भेडेटार प्रहरी चौकीका सई तीर्थबाबु गिदेलले बताए । स्थानीयवासीका अनुसार बिरामी आमालाई भेट्न मंगलबार दिलमाया माइत आएकी थिइन् । आमाछोरी भान्छाकोठामा सुतेकोले पहिरोले पुरिएका हुन् । परिवारका अन्य सदस्य भने अर्को घरमा सुतेकाले जोगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया