रेग्मीविरुद्धको रिटमा कारण देखाउ आदेश

suprime-courtकाठमाडौं, २३ जेठ । प्रधानन्यायाधीशसमेत रहेका अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीविरुद्ध दायर रिट निवेदनमा बुधबार सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश गिरिशचन्द्रलालको एकल इजलासले बुधबार जारी गरेको आदेशमा १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन भनिएको छ । न्यायपालिका र कार्यपालिका प्रमुख एकै व्यक्ति बन्नु लोकतन्त्र र शक्तिपृथकीकरणको सिद्धान्तविपरीत भएकाले अध्यक्ष रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने माग गर्दै १४ जेठमा काठमाडौं महानगरपालिका–३४ का भरतमणि जंगमले उक्त निवेदन दर्ता गराएका थिए । जंगमले निवेदनमा प्रधानन्यायाधीशले संविधानको मर्म र भावनालाई लत्याएको र न्यायका मान्य सिद्धान्तलाई बेवास्ता गरेर सर्वोच्च अदालतको साख गुमाएको जिकिर गरेका छन् ।
उक्त निवेदनअघि एकै विषयमा पाँचवटा निवेदन दर्ता भइसकेको र निवेदकले उठाएका माग सर्वोच्चमा विचाराधीन निवेदनबाटै सम्बोधन हुने भएको भन्दै तत्कालीन निमित्त रजिस्ट्रार श्रीकान्त पौडेलले अघिल्लो दिन उक्त निवेदन फिर्ता गर्ने आदेश गरे पनि दोस्रो दिन भने दर्ता गरिएको थियो ।

प्रतिक्रिया