नेविसंघको बन्द फिर्ता

काठमाडौं, २३ जेठ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव स्थगनपछि त्यसको विरोधमा नेपाल विद्यार्थी संघले बिहीबारका लागि घोषणा गरेको बन्द कार्यक्रम फिर्ता लिएको छ ।

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र संघका प्रतिनिधिबीच बुधबार भएको अनौपचारिक छलफलमा स्ववियु चुनावका लागि विद्यार्थी संगठनलाई वार्तामा बस्न आह्वान गरेपछि बन्द फिर्ता लिइएको हो । संघका प्रवक्ता युपी लामिछानेले सर्वसाधारणलाई असुविधा नहोस् भनेर बन्द फिर्ता लिइएको जानकारी दिँदै अन्य विरोधका कार्यक्रम यथावत् रहेको बताए ।
आजका लागि निर्धारित स्ववियु चुनाव केही दिनअघि मात्र त्रिविले अनिश्चितकालका लागि स्थगन गरेपछि संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । संघले आन्दोलनका कार्यक्रमअनुसार स्ववियु चुनावको नयाँ मिति तत्काल घोषणाको माग गर्दै विभिन्न चक्काजामलगायत विरोध प्रदर्शन गरिसकेको छ । चुनाव नजिकिँदै जाँदा विद्यार्थी संगठनबीच विद्यार्थी भर्नालगायत विषयमा विवाद भएपछि त्रिविले चुनाव स्थगनको निर्णय गरेको थियो ।

प्रतिक्रिया